२० भदौ । नेपालमा भदौ २० गतेलाई ‘मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको रूपमा मनाइन्छ। यो दिन मानव बेचबिखन जस्तो गम्भीर अपराधबारे जनचेतना फैलाउन, यस विरुद्ध सरकारी तथा गैरसरकारी संस्थाहरूलाई सहकार्यमा ल्याउन, र पीडितहरूको संरक्षण तथा पुनःस्थापना सुनिश्चित गर्न महत्त्वपूर्ण मानिन्छ।
जनतालाई मानव बेचबिखनको जोखिम र परिणामबारे जानकारी दिनु,बेचबिखनमा परेका व्यक्तिहरूको संरक्षण र पुनःस्थापनाका लागि पहल गर्नु, सरकार, एनजियो, आईएनजियो सुरक्षा निकाय, सञ्चार माध्यम, र समुदायबीच सहकार्यलाई प्रवर्द्धन गर्नु, मानव तस्करी रोक्न नीति निर्माण र कार्यान्वयनमा जोड दिनु यसको मुख्य उद्धेश्य रहेको छ ।
नेपाल भौगोलिक हिसाबले खुला सिमाना, गरिबी, बेरोजगारी, शिक्षा तथा चेतनाको अभावजस्ता कारणले मानव तस्करीको उच्च जोखिममा छ। विशेष गरी महिला र बालबालिका तस्करीको मुख्य निशाना बनिरहेका छन्। नेपालबाट भारत, खाडी मुलुक, र अन्य देशहरूमा कामको नाममा लगेर यौन शोषण वा जबरजस्ती श्रममा लगाउने क्रम व्यापक छ।
मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस’ केवल एक स्मरण मात्र नभई, मानव अधिकारको संरक्षण र मानव तस्करी रोक्नका लागि सबै तहमा संयुक्त रूपमा काम गर्ने अवसर हो। यस दिनले हामीलाई हाम्रो सामाजिक जिम्मेवारी सम्झाइरहन्छ कि हामी सबै मिलेर मानव बेचबिखनजस्तो घृणित अपराध अन्त्य गर्न सक्छौं।
मानव बेचबिखन भन्नाले व्यक्तिहरूलाई जबरजस्ती, ठगी, प्रलोभन, वा बलपूर्वक यातायात, स्थानान्तरण, लुकाइछिपाइ वा बिक्री गरेर जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, अंग व्यापार जस्ता कार्यमा संलग्न गराउने अपराध हो।