लहान, २१ जेठ । आँपको सिजन सुरु भएसँगै बजारमा चहलपहल बढेको छ भने किसानहरूको अनुहारमा मुस्कान देखिएको छ। यदि उत्पादन र बिक्री सन्तुलनमा रह्यो भने यो सिजन कृषकहरूका लागि लाभदायक सावित हुनसक्छ।
गर्मी यामको राजा तथा फलको राजा मानिने आँप अहिले देशभरि पाक्न थालेको छ। विशेषगरी तराईका जिल्लाहरूमा उत्पादन बढ्दै जाँदा बजारमा आँपको आपूर्ति बढेको छ र उपभोक्ताहरूमा चासो बढेको देखिन्छ।
सिराहा,सप्तरी,सर्लाही, बाँके बर्दिया, र चितवन जस्ता जिल्लाहरूमा व्यावसायिक रूपमा आँप खेती हुँदै आएको छ । यस वर्ष मौसम अनुकूल रहेकाले आँपको उत्पादन अघिल्लो वर्षभन्दा राम्रो हुने किसानहरूको अनुमान छ।
धनगडीमाई १ का आँप टेकदार राजी राम भन्छन्, “यो वर्ष आँप राम्रो फलेको छ। पानी समयमै परेको र फलको बोटमा किरा कम लागेकाले आम्दानी राम्रो हुने अपेक्षा छ।”
काठमाडौं, पोखरा, र धरान जस्ता सहरहरूमा अहिले बम्बई,मालदह,सिन्दुरा, चौसा र लङडा जातका आँपहरू लोकप्रिय छन्। बजारमा अहिले प्रति केजी आँपको मूल्य रु १०० देखि रु १८० सम्म रहेको छ।
व्यवसायीहरूका अनुसार आगामी दुई हप्ताभित्र नेपाली बजारमा भारतीय आँपको पनि चाप बढ्नेछ, जसले मूल्यमा केही उतारचढाव ल्याउन सक्नेछ। तर उपभोक्ताहरू भने नेपाली आँपलाई बढी स्वादिलो र ताजा ठान्छन्।
सरकारले पनि फलफूल उत्पादनमा अनुदान दिने र कृषकलाई प्राविधिक सहयोग पुर्याउने बताएको छ।
कृषि मन्त्रालयका अनुसार आँप खेती विस्तारका लागि तालिम, बिरुवा वितरण, र सिँचाइ सुविधामा जोड दिइनेछ।