लहान जेठ २० । लहान मालपोत कार्यालयका प्रमुख डमरु प्रसाद निरौला र त्यहाँका लेखापढी व्यवसायीबीच महिनौंदेखि चलिरहेको विवादले सेवाग्राहीहरूलाई गम्भीर समस्या उत्पन्न भएको भन्दै लहान नगरपालिकाका मेयर महेश चौधरीले आज मालपोत कार्यालयमा अनुगमन गरेका छन्।
अनुगमनका क्रममा मेयर चौधरीले कार्यालयका प्रमुख अधिकृत निरौलाको नामप्लेट, हाजिरी तथा कार्यालयमा उपस्थिति नै नरहेको पाएका छन्। सो विषयमा प्रतिक्रिया दिँदै मेयर चौधरीले भने,कार्यालय प्रमुखको जिम्मेवारीमा बसेका व्यक्तिको यसरी निरन्तर अनुपस्थिति हुनु निकै गम्भीर विषय हो। यसको असर प्रत्यक्ष सेवाग्राहीमाथि परेको छ।ू
मेयरको प्रश्नको जवाफ दिँदै मालपोत कार्यालयका नायब सुब्बा अर्जुन मण्डलले प्रमुख निरौला मौखिक सूचना दिई बिदामा रहेको जानकारी दिए। उनले भने, कुनै लिखित निवेदन नआएको भए पनि मौखिक जानकारीका आधारमा उहाँ बिदामा हुनुहुन्छ। यसले कार्यालयको नियमित सेवा प्रभावित भएको हो।
यसैबीच, लहान ७ स्थित घण्टाघर नजिकै निर्माण भएको मालपोत कार्यालयको नयाँ भवनसँगै रहेको ४ कट्ठा ५ धुर सरकारी जग्गा प्रमुख निरौलाले आन्तरिक राजस्व कार्यालय लहानलाई लिजमा दिन लागेको भन्दै लेखापढी व्यवसायीहरूले कडा विरोध जनाएका छन्।
लहान लेखापढी व्यवसायी संघका अध्यक्ष राम नारायण यादवका अनुसार, उक्त जग्गा खारेज गरी राजस्व कार्यालयलाई लिजमा दिन खोजिएको जानकारीपछि हामी आन्दोलनमा उत्रन बाध्य भयौं। मालपोत कार्यालय प्रमुखले यस्तो कदम चाल्न पाइँदैन।
लेखापढी व्यवसायीहरूको आन्दोलन झनै चर्किएको छ जब प्रमुख निरौलाले झण्डै चार महिनादेखि कार्यालयमा नियमित उपस्थित नभएको र बेलुका ५–६ बजेतिर मात्र कार्यालयमा आएर हाजिरी गर्ने गरेको आरोप लागेको छ।
लेखापढी व्यवसायी संघका केन्द्रीय सदस्य दिनेश यादवले भने, निरौला दिनभरि कार्यालय आउँदैनन्, बेलुका आएर हाजिरी गर्छन् र दिनभरि लेखापढी व्यवसायीहरूसँग संकलित कमिसन रकम बटुल्छन्। त्यसपछि दारू र भारूको पछि लाग्ने गर्छन्। यस्तो कामले सरकारी सेवाको नै खिल्ली उडेको छ।
यस प्रकरणले लहान मालपोत कार्यालयमा गम्भीर प्रशासनिक कमजोरी उजागर गरेको छ। अनुगमनपछि मेयर चौधरीले सरोकारवाला निकायसँग छलफल गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएका छन्।