शम्भु चौधरी, लहान १३ कार्तिक । लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले वडा २३ का बासिन्दाको घरदैलो मै पुगेर स्थानीयका समस्या, गुनासा तथा आवश्यकताबारे छलफल गरेका छन्।
स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै मेयर चौधरीले उनीहरूको दैनिक जीवनसँग जोडिएका समस्या र विकास निर्माणसँग सम्बन्धित विषयमा जानकारी लिएका हुन्।
घरघरमै पुगेर गरिएको छलफलका क्रममा स्थानीयले सडक, नाला, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य लगायतका विषयमा आफ्ना धारणा तथा समस्या राखेका थिए। मेयर चौधरीले स्थानीयका गुनासा ध्यानपूर्वक सुन्दै समस्या समाधानका लागि आवश्यक पहल गर्ने विषयमा छलफल भएको सम्बन्धित वडाका वडा अध्यक्ष बद्री यादवले बताए ।

नगरपालिकाको विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउन जनताको घरदैलोमै पुगेर उनीहरूका समस्या बुझ्ने उद्देश्यले यस्तो भेटघाट गरिएको बताइएको छ।
स्थानीय तहको विकासमा नागरिकको सहभागिता र सुझाव महत्वपूर्ण हुने भएकाले आगामी दिनमा पनि जनतासँग प्रत्यक्ष संवादलाई निरन्तरता दिने विषयमा जोड दिइएको छ।

