शम्भु चौधरी, लहान १० कार्तिक । लहान ११ पिडरबनी फुटबल क्लबको आयोजनामा सञ्चालित तेस्रो वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता २०८३ को फाइनल खेल आईतबार सम्पन्न भएको छ।
सम्पन्न खेलमा सुरुङ्गा युवा क्लब, सप्तरी र आकाश गंगा फुटबल क्लब, गोलबजार सिरहा बीच भएको रोमाञ्चक प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा सुरुङ्गा युवा क्लब २ – ० गोलको अन्तरले जित हासिल गर्दै प्रतियोगिताको प्रथम स्थान हासिल गर्न सफल भएको छ भने आकाश गंगा फुटबल क्लब, गोलबजार द्वितीय स्थान हासिल गर्न सफल भएको छ ।
स्थानीय स्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदप्रति युवाको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताको फाइनल खेल उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि लहान नगर प्रमुख महेश प्रसाद चौधरी विशिष्ट अतिथि सम्बन्धित वडाका वडा अक्षयक्ष सूर्य नारायण चौधरी, स्थानिय जनप्रतिनिधि, खेलप्रेमी, स्थानीयवासी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रथम हुने सुरुङ्गा युवा क्लबले प्रथम पुरस्कार नगद रु ५१ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रप्त गरेका छन भने द्वितीय हुने आकाश गंगा फुटबल क्लब, गोलबजारले द्वितीय पुरस्कर नगद रु ३१ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रप्त गरेका छन । साथै विभिन्न विधागत पुरस्कारहरुमा उत्कृष्ट खेलाडीहरुले नगद रु ५०० र ट्रफी प्राप्त गरेका छन ।
कार्यक्रममा वक्ताहरूले खेलकुदले युवामा अनुशासन, एकता, सहकार्य र सकारात्मक सोचको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता प्रतियोगिताले स्थानीय प्रतिभालाई उजागर गर्नुका साथै खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउने धारणा व्यक्त गरेका थिए।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण खेलाडी, खेलप्रेमी, प्रायोजक, सहयोगी संस्था, सुरक्षाकर्मी तथा स्थानीयवासीप्रति आयोजक पिडरबनी फुटबल क्लबले धन्यवाद व्यक्त गरेको छ।
स्थानीय क्षेत्रमा फुटबल खेलको विकास र नयाँ खेल प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित आयोजना गरिएको यस प्रतियोगिताले खेलकुदको माध्यमबाट युवालाई एकताबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजक समितिका अध्यक्ष उमेश चौधरीले बताए।

