लहान १६ जेठ । सलहेश पासमान समाज लहानको आयोजनामा सिराहा र सप्तरी जिल्लाका पासमान समुदायका अगुवाहरूले ऐतिहासिक तथा सांस्कृतिक महत्वको स्थल सलहेश फुलबारी संरक्षणको माग गर्दै शुक्रबार लहानमा बृहत र्यालि सहित विशेष विरोध प्रदर्शन गरेका छन्। जसमा सिराहा(सप्तरीका प्रमुख राजनीतिक, सामाजिक र बौद्धिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि रामपृत पासमान (पूर्व राष्ट्रिय सभा उपाध्यक्ष) थिए। विशिष्ट अतिथिका रूपमा महेन्द्र पासमान, गंगा पासमान, अभिभावक चन्देश्वर पासमान, संस्थापक अध्यक्ष दुखी पासमान, तथा अन्य अतिथिमा सत्यनारायण पासमान, केवल पासमान, देवनाथ पासमान, छेदीलाल पासमान, सियाराम पासमान, जीवन पासमान लगायत नेताहरू सहभागी थिए।
कार्यक्रममा सिराहा–सप्तरीका सम्पूर्ण पासमान राजनीतिकर्मी, बुद्धिजीवी, र समुदाय अगुवाहरूको व्यापक उपस्थिति रहेको थियो। कोणसभा र र्यालीमार्फत उनीहरूले प्रदेश सरकार र मुख्यमन्त्री सतीशकुमार सिंहविरुद्ध कडा रुपमा खबरदारी गर्दै सलहेश फुलबारी संरक्षणको माग दोहोर्याए।
प्रदर्शनकारीहरूको मुख्य आक्रोश सलहेश फुलबारी नजिकै भिमराव अम्बेडकर पार्क निर्माण गर्न लागिएको विषयमा केन्द्रित थियो। उनीहरूले यस कदमलाई ऐतिहासिक स्थलमाथिको सीधा हस्तक्षेपको रूपमा चित्रित गर्दै विरोध जनाउँदै आएका छन्। मुख्यमन्त्री सिंहले जनभावनाको अवमूल्यन गर्दै जबरजस्ती शिलान्यास गरेको भन्दै समुदायमा असन्तुष्टि झनै बढेको छ।
जनता समाजवादी पार्टी नेपालका नेता चन्देश्वर पासमानले विरोध सभामा सम्बोधन गर्दै भने, सलहेश फुलबारी हाम्रो पहिचान, इतिहास र अस्तित्वसँग जोडिएको स्थल हो। यसमा राज्यको अनुचित हस्तक्षेप स्वीकार्य छैन। प्रदेश सरकारले यथाशीघ्र यस निर्णयलाई फिर्ता लिनुपर्छ।
प्रदर्शनकारीहरूले डा. भीमराव अम्बेडकर प्रति सम्मान व्यक्त गर्दै भनेका छन्, हामी अम्बेडकरको विचार र योगदानलाई आदर गर्छौं। तर, त्यसको बहानामा सलहेश फुलबारीजस्तो ऐतिहासिक स्थलको मौलिकता नष्ट गर्नु अन्यायपूर्ण छ।”
वक्ताहरूले वैकल्पिक स्थानमा अम्बेडकर पार्क निर्माण गर्न सरकारलाई आग्रह गरे। उनीहरूको भनाइमा, सलहेश फुलबारी केवल धार्मिक स्थल मात्र नभई सामाजिक एकता, परम्परा र सांस्कृतिक गौरवको प्रतीक हो।
कोणसभाको अध्यक्षता मनोज पासमानले गरेका थिए ।