महेश सिंह, काठमाडौं-‘संरचनात्मक विभेद विरुद्धको अभियान’ नारासहित मानव अधिकार रक्षकहरूको पहिचान, सुरक्षा र मर्यादाका लागि विशेष अभियान सुरु गरिएको छ। ओरेक नेपालको आयोजनामा सुरु गरिएको पाँच दिने कार्यक्रमले मानव अधिकारको संरक्षणमा सक्रिय व्यक्तिहरूको अधिकार, भूमिका र सुरक्षालाई प्राथमिकतामा राख्दै राष्ट्रिय तहमा सार्वजनिक पहिचान दिनुपर्ने आवश्यकता औँल्याएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले मानव अधिकार रक्षकहरूलाई उत्प्रेरणा दिने, उनीहरूको सुरक्षाको प्रत्याभूति गराउने र सामाजिक सम्मान दिलाउने उद्देश्यसहित अभियान अघि बढाइएको जानकारी दिए। चित्र प्रदर्शनीमार्फत सुरक्षा, पहिचान, मर्यादा र समावेशीताका पक्षहरू उजागर गरिएको थियो।
कार्यक्रमका क्रममा महिला अधिकारकर्मी र मानव अधिकार रक्षकहरूका भिन्नता, चुनौती र उनीहरूले भोग्नुपर्ने संघर्षबारे विशेष तालीम सञ्चालन गरिएको ओरेक नेपालकी कार्यक्रम प्रबन्धक सुलोचना खनालले जानकारी दिइन्। तालीमको सहजीकरण ओरेक नेपालकी कार्यकारी निर्देशक सुनिता मैनाली र खनालले गरेका थिए।
नेपालका सातै प्रदेशबाट सहभागी २६ जना अधिकारकर्मीहरूको सहभागिता रहेको कार्यक्रममा “मेरो शरीर, मेरो अधिकार” लगायतका नाराले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो। विभेदरहित समाज निर्माणको उद्देश्यसहित आयोजित कार्यक्रममा छुवाछूत, सामाजिक बहिष्कार र हिंसाका विरुद्ध सशक्त सन्देश प्रवाह गरिएको आयोजकहरूले बताए।
आगामी दिनहरूमा देशभर सचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिने आयोजक ओरेक नेपालले जनाएको छ। मानव अधिकार रक्षकहरू लोकतन्त्रप्रति प्रतिबद्ध रहँदै समाजमा सकारात्मक परिवर्तनको संवाहकका रूपमा प्रस्तुत भइरहेका छन्।