मुख्य समाचार · समाचार

सिरहामा तस्करी र प्रहरीको भाईचाराको सम्बन्ध देशको लागि घातक बन्दै

सिरहा  ५ कार्तिक  । प्रहरी र तस्करको बढ्दो भाईचाराले सिरहा जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । सिरहाको बरियारपट्टी र ठाढी नाकामा दिनदहाडै तस्करी भइरहेको खबर छ । सरकारले नाका बन्दको घोषणा गरेपनि भारत – नेपाल आवतजावतको सिलसिला भने रोकिएको छैन । प्रहरीको आँखा अगाडि नै खुलेयाम तस्करी हुनुलाई कोरोना फैलिने जोखिम रहेकाले सरकार नाका बन्द गरेको छ । तर प्रहरीकै मिलोमतोमा तस्करी भइरहेको तथ्य खुलेको छ ।

ठाडी, बरियापट्टी, मरिकटोल, आभेनगर, कुसन्डी तोरियाही र झाझपट्टी नाकाबाट दिनहुँजसो तस्करी भईरहेको खबर प्राप्त भएको छ । नेपालबाट भारत हरियो र सेतो मटर, स्याऊ, मदिरा, सुपारी, डिजल र पेट्रोल अत्यधिक तस्करी भइरहेको छ । भारतबाट नेपालतर्फ कपडा, चिनी, खैनी, प्याज र रजनिगन्धा जस्ता समान तस्करी हुन्छ । चाडपर्वका बेला तस्करी मौलाएपछि एसपीदेखि डिआइजीको घुमुवा समेत मालामाल छन ।

स्थानीयका अनुसार सर्वसधारणले ५ किलो चिनी र ५ लिटर तेल ल्याउँदा किचकिच गर्ने प्रहरी लाखौंको समानल्याउने तस्करहरूलाई देखे पनि नदेखेको जस्तो गर्छन ।

सिमा नाका बन्द रहेका बेला तस्करी मौलाएपछि सरकारको राजश्व मात्र गुमिरहेका छैन, कोरोना फैलिने जोखिम पनि बढेको छ । तर सम्बन्धित निकाय मौन बसेका छन् । प्रहरीका उच्च अधिकारीसम्म घुमुवा मार्फत तस्करीबाट उठेको रकम पुग्ने गरेको स्रोतको दावी छ ।