साहित्य

एक अनागरिकको फिराद !

सरकार
हजुरलाई
मेरो बोली पारिको लाग्छ
मेरो धोती पारिको लाग्छ
मेरो अनुहारको रङ्ग
हजुरलाई झन पारिको लाग्छ
मलाई देख्ना साथ हजुर सोध्नु हुन्छ-
‘ भैया घर कहाँ है ,सीतामाढी ?’
म हजुरको भैया
म हजुरको मर्स्या
म हजुरको धोती
म हजुरको काले
म हजुरको घुसपैठिया
म हजुरको अङ्गिकृत
साँच्चि हजुरलाई
पारिकाले कान्छा र बहादुर भन्दा कस्तो लाग्छ ?
हरेक रात सीमा मिचिदा
हजुरको त एउटा मनको देश दुख्छ
मेरो त हजुर
आँगन दुख्छ
खेत दुख्छ
डगर दुख्छ
पाइखाना गर्ने चउर दुख्छ
कैले कैले त घरै दुख्छ
साँच्चि हजुरसँग
बिएसएफसँग भिडेको अनुभव छ ?
हजुर यो देशको मालिक
हजुरको अनुहारकाहरू
सबै यो देशका मालिक खान्दान
हजुरहरू जन्मजात देशभक्त
हामीहरू त हजुर
अनुहारले नै ठगिएका मान्छे
भेषभुषा र भाषाले ठगिएका मान्छे
हामीलाई देश दुख्दा
आफ्नो खेतजस्तै दुख्छ
साँच्चि हजुरलाई देश कसरी दुख्छ मालिक ?
हाम्रो खेतलाई सुख्खा राखेर
हजुरले कोशी बेच्नु भयो
तै पनि हजुर राष्ट्रवादी
हाम्रो बस्तीलाई मरुभूमि बनाएर
हजुरले गण्डकी बेच्नु भयो
तै पनि हजुर देशभक्त
हामीलाई उल्लू बनाएर
हजुरले महाकाली बेच्नु भयो
अझ हामी नै अङ्गीकृत
साँच्चि नि हजुर,
देश बेच्दाको बखत
अपराध बोध नहुने रैछ ?
हजुरलाई
दार्जिलिङ् स्वदेश लाग्छ
मधेश विदेशलाग्छ
हजुरलाई
अम्वर गुरुङ्ग
सूर्य विक्रम ज्ञवाली
धरणीधर कोइराला
पारसमणि प्रधान
यी सवै वंशज लाग्छ
म हजुरलाई अङ्गीकृत लाग्छ
साँच्चि हजुर,
हजुरलाई नेपाल पहाड मात्रै लाग्छ ?
हामी त हिजो पनि रैती
हामी त आज पनि रैती
रैती नाथेलाई
जुन देश भए पनि के फरक ?
यो देश त सगरमाथाको देश
यो देश त गोर्खालीको देश
यो देशको मुहारमा
मधेशको माटोको गन्ध कहाँ छ ?
यो देशको इतिहासको कितावमा
हाम्रो इतिहासको पाना कहाँ छ ?
साँच्चि नि हजुर
हजुरलाई वुध्द भन्दा राम महान लाग्छ है ?
यो धरतीको एक थान देशमा
हजारौं वर्षको इतिहास बोकेर
एउटा रैथाने नागरिक हुन नसकेको
म तिम्रो अनागरिक भैया
समयको ओछ्यानबाट ब्युँझेर
जोड जोडले चिच्याइरहेको छु-
………
कि मलाई नागरिकको हक देऊ
कि मलाई देश खोज्ने हक देऊ
यस्तो घर न घाटको जिन्दगी
कृपा गरेर अब नदेऊ
साँच्चि नि मालिक ,
हजुरलाई पानीपुरी त खुश मन पर्छ है ?