काठमाडौं २ चैत/भारत सरकारले नेपालसँग सिमाना जोडिएका नाका आज (आइतबार) राति १२ बजेदेखि बन्द गर्ने भएको छ । नेपाल, भुटान, बंगलादेश र म्यानमारसँग जोडिएका २० नाका बन्द गर्ने निर्णय भारतले गरेको छ ।
चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोनाभाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्जबाहेक सबै नाकाहरु आज राति १२ बजेदेखि बन्द गर्ने भएको हो ।
अब नेपालीले भारत आवत–जावत गर्दा उत्तराखण्डको बनबासा, उत्तरप्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगञ्ज नाकामात्रै प्रयोग गर्न पाउने भएका छन् भने अन्य नाकाहरु भने बन्द हुने छन् ।
भारतको गृहमन्त्रालयका एक अधिकृत अनिल मलिकले भिसा नचाहिने नेपाल र भुटानका नागरिकहरुका लागि भने प्रवेश खुल्ला रहने बताए । तर, तेस्रो मुलुकका नागरिकहरु भने आवत–जावत गर्न पाउने छैनन् ।
प्रवेश अनुमति पाएका देशका नागरिकहरुले अनिवार्य परिचय पत्र बोक्नुपर्ने र सिमानामा स्वास्थ्य जाँच गराउनुपर्ने हुन्छ ।
भारतमा कोरोनाभाइरसबाट दुई जनाको मृत्यु भइसकेको छ भने ८२ जना संक्रमित भएको पाइएससँगै भारतले सुरक्षा सतर्कता अपनाउँदै सिमानाहरुमा कडाइ गरेको हो ।
यसैगरी भारत–बंगलादेश रेल र बस सेवा १५ अप्रिलसम्मका लागि बन्द गरिएको छ । साथै सीमा क्षेत्रका बजारमा पनि विदेशीहरुलाई पनि प्रवेश निक्षेद गरिएको छ ।
यसैगरी भारत सरकारले पर्यटक भिसा बन्द गर्ने र कोरोनाबाट प्रभावित चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन र जर्मनीमा उडान रोक्ने निर्णय यसअघि नै गरिसकेको छ ।
के हो कोरोना ?
वैज्ञानिकहरुका अनुसार यो नयाँ किसिमको कोरोना भाइरस हो । जुन १७ वर्षअघि महामारी जस्तै बनेर फैलिएको मार्ससँग मिल्दोजुल्दो भएको उनीहरुको ठहर छ । विश्व स्वास्थ्य संगठनका वैज्ञानिकले नयाँ कोरोना भाइरसलाई ‘२०१९–एन सिओभी’ नाम दिएका छन् । यसको आकारबाटै नामाकरण ‘कोरोना भाइरस’ भएको हो । जुन इलेक्ट्रोन माइक्रोस्कोपबाट यसको आकार खिच्दा यो सोलारको रुपमा देखिन्छ । सोही कारण पनि यसलाई कोरोना भाइरस भनिएको बताइन्छ । कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट सर्छ । चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ । अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ ।
यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, स्वासप्रस्वास छिटोछिटो हुनु, स्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ । हाल देखिएको ‘२०१९–सिओभी’को कारण सार्स र मार्स कोरोनाको लक्षणसँग मिल्छ । यद्यपि कोरोना भाइरस संक्रमणको उपचारका लागि अहिलेसम्म कुनै भ्याक्सिन वा एन्टिभाइरस उपलब्ध छैन । बरु महामारीको रुप लिनुअघि नै यसबाट बच्न शतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ । कोरोना भाइरस अमेरिकामा पनि चीनबाट अमेरिका पुगेका एक अमेरिकी नागरिकमा समेत कोरोना भाइरस देखिएको अमेरिकाले जनाएको छ । चीनको वुहानबाट अमेरिकाको सिएटल पुगेका अमेरिकी नागरिकमा यो भाइरस भेटिएको अमेरिकाले पुष्टि गरेको हो । ती नागरिक यही जनवरी १५ मा चीनको वुहानबाट फर्किएका थिए । स्वास्थ्य चेकजाँच गराउँदा उनलाई कोरोना लागेको कुरा विज्ञप्ति मार्फत २० जनवरीमा जानकारी गराइएको हो । यससँगै उत्तर कोरिया लगायत अन्य देशले यसबाट बच्न सीमा तथा विमानस्थलमा उच्च शतर्कता अपनाउन थालेका छन् ।
के हो कारण ?
कोरोना भाइरसको वास्तविक कारक सर्प हुनसक्ने बताइएको छ । चिनियाँ सर्प क्रेएइटबाटै यो भाइरस फैलिएको अनुसन्धानले देखाएको छ । जुन कोब्रा प्रजातिको मानिन्छ । र यस्ता सर्प अति विषालु तथा खतरनाकमध्ये मानिन्छन् । धेरैजसो मध्य र दक्षिणी चीन तथा दक्षिणपूर्वी एसियाली क्षेत्रमा यस्ता सर्प पाइन्छ ।
लक्षण के हुन् ?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन्।
*ज्वरो आउनु र खोकी लाग्नु
*छिटोछिटो सास फेर्नु
*श्वासप्रश्वासमा कठिनाइ हुनु
*गम्भीर भएमा निमोनिया हुनु
*सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु
*मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ
कसरी जोगिन सकिन्छ ?
यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छः
*नियमित रूपमा हात सफा गर्ने
*खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
*मासु र अण्डा राम्रोसँग पकाएर खाने
*कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने