समाचार

एउटि पिडित महिलालाई प्रहरिले लखेटेर पिटे

काठमाडौँ १६फाल्गुन । केही महिनायता हेमा श्रेष्ठ सामाजिक सञ्‍जालहरुमा भाइरल छिन्। काखमा बच्चा च्यापेर न्यायका लागि प्रहरी कार्यालयमा भौतारिरहेको हेमाका भिडियो यूट्युबमा बढी खोजिएका सामग्रीहरुमध्ये पर्छन्।

संखुवासभाको तत्कालिन जलजला गाविस स्थायी घर भएकी ३३ वर्षीया हेमा अदालतबाट फ‍ैसला हुँदासमेत श्रीमानबाट न्याय नपाएको गुनासो गर्दै आएकी छिन्। हेमाको केही वर्षअघि संखुवासभाको जलजलाकै दोर्छो शेर्पासँग विवाह भएको थियो।

विवाहपछि उनीहरुबाट एउटा छोरी जन्मियो। तर शेर्पाले उक्त छोरी आफ्नो नभएको दावी गरेपछि हेमा अदालतको शरण पुगिन्। अदालतले छोरा शेर्पाकै भएको भन्दै नाता कायम गरिदियो। त्यतिमात्र होइन, मानाचामल भराउने आदेश पनि दियो। तर त्यसपछि शेर्पा सम्पर्क बाहिर भए। श्रीमानले जिम्मेवारी पुरा नगरेको भन्दै हेमा अहिले न्यायका लागि लडिरहेकी छिन्।

प्रहरीले शेर्पाको खोजि भइरहेको बताएपनि हेमाले चित्त बुझ्दो जवाफ भेटिरहेकी छैनन्।

उनै हेमालाई बिहीबार भैसेपाटीस्थित एक निजि निवासमा प्रहरीले निर्मम कुटपिट गर्‍यो। त्यहाँ उनी आफ्नो न्यायका लागि भने गएकी थिइनन्। माला शाह नाम गरेकी एक महिलाले आफुलाई हेम खत्रीले लामो समय सम्बन्धमा रहेर धोका दिएको दावी गर्दै खत्रीको घर घेर्न केही अधिकारवादीलाई लिएर पुगेकी थिइन् जसमा दुधे बालक च्यापेर हेमा पनि मिसिएकी थिइन्। घरबाट ती महिलाहरुलाई निकाल्नेक्रममा प्रहरी निरिक्षक देवीप्रसाद पौडेलले बालक च्यापिरहेकी हेमालाई लखेटी लखेटी पिटेका थिए। खत्री नेपाली सेनाका पूर्व जर्नेल पनि हुन्।

भैँसेपाटी प्रहरी प्रभागका प्रमुख पौडेल आफै घटनास्थल पुगेर हल्ला गरिरहेका महिलामाथि हातपातमा उत्रिएका थिए। सामान्यतया महिलालाई नियन्त्रणमा लिन महिला प्रहरी नै परिचालन गर्नुपर्ने कानुनी व्यवस्था छ।

ललितपुर प्रहरी परिसरका प्रमुख टेकप्रसाद राईले घटनाको छानबिन गर्न एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको र प्रहरी निरीक्षक पौडेलसँग तत्काल स्पष्टीकरण सोध्ने निर्णय पनि भएको जानकारी दिए।

‘स्थिति नियन्त्रणमा लिन हामीबाट अलिक बढी बल प्रयोग भएकै हो। मैले तीन सदस्यीय छानबिन समिति गठन गरेर तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छु। प्रहरी निरीक्षक पौडेलसँग स्पष्टिकरण सोध्ने पनि काम हुन्छ। त्यसपछि आवश्यक कारबाहीका विषयमा अगाडि बढ्ने छौँ ‘, एसएसपी राईले भने।

हेमासहित केही महिला र युट्युबरलाई लिएर आफूलाई पूर्व जर्नेल खत्रीकी प्रेमिका दावी गर्ने माला शाह बिहीबार भैसेपाटीस्थित खत्रीको घरमा पुगेकी थिइन्। त्यतिबेला खत्रीको घरमा उनकी छोरी मात्र रहेको प्रहरीले जनाएको छ। देश सन्चारबाट

‘महिलाको हुल घरभित्र छिरेर तोडफोड गर्न थालेपछि हामीले उनीहरुलाई त्यहाँबाट हटाउन खोज्दा स्थिति त्यस्तो बनेको हो’, एसएसपी राईले भने।

प्रहरीका अनुसार गत कात्तिक २७ गते भैँसेपाटीमा आफूलाई तीन जना महिलाले पिटेको भन्दै खत्री प्रहरीकहाँ उजुरी लिएर पुगेका थिए। उजुरी मालाविरुद्ध पनि थियो। कात्तिक २८ गते प्रहरी सम्पर्कमा आएकी मालाले आफू २२ वर्षदेखि खत्रीकी प्रेमिका रहेको र डेरा लिएरै राखेको तर पछिल्लो समय आफूलाई छाडेर हिँडेको बताएकी थिइन्।

‘उहाँ असोज १५ गते भारत जान्छु भन्दै निस्कनुभएको थियो। तर त्यसपछि हराउनु भयो। उहाँलाई खोज्ने क्रममा भैँसेपाटीमा भेटेकी हुँ। खत्री र मबीच नाता कायम होस्’, त्यतिबेला प्रहरीकहाँ मालाको आग्रह उदृत गर्दै एसएसपी राईले भने। त्यसपछि यी दुईबीचको विवाद लगातार प्रहरीमा आइरह्यो।

‘यसभन्दा अगाडि पनि ७/८ पटक मालासहितको महिलाको समूहले खत्रीको घर अगाडि गएर हुलहुज्जत गर्ने, धर्ना दिनेजस्ता गतिविधि गरेको पाइएको थियो। हामीले उहाँलाई पटक–पटक नियन्त्रणमा लिएर छाडेका पनि थियौँ’, राईले भने। देश सन्चारबाट