जिबनसैली · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · राजनीतिक · समाचार

लहान नगरपालिकाको मेयर पदमा परमेश्वर साहद्वारा उम्मेदवारी घोषणा

शम्भु चौधरी, लहान १२ मंसिर । सिरहाको लहान नगरपालिकाको मेयर पदमा परमेश्वर साहले आगामी निर्वाचनका लागि आफ्नो उम्मेदवारी शनिबार पत्रकार सम्मेलन गरी घोषणा गरेका छन्। उनले नगरको समग्र विकास, सुशासन, शिक्षा, स्वास्थ्य तथा जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै साहले लहान नगरपालिकालाई व्यवस्थित, समृद्ध र विकासमुखी नगर बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन्। नगरवासीको समस्या समाधान, विकास निर्माणलाई गति दिने तथा नगरपालिकाको सेवा प्रवाहलाई जनमुखी बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

नेपाली कांग्रेसको रुख चिन्हबाट उम्मेदबारीको घोषणा गर्दै उनले लहानको विकासका लागि योजनाबद्ध काम, पारदर्शी प्रशासन, युवालाई अवसर, कृषि क्षेत्रको विकास तथा शिक्षा र स्वास्थ्य सेवामा सुधार आवश्यक रहेको औँल्याएका छन्।

मेयर पदमा उम्मेदवारी घोषणा गरेसँगै लहानको आगामी स्थानीय निर्वाचनलाई लक्षित राजनीतिक गतिविधि थप चासोपूर्ण बन्ने देखिएको छ। साहको उम्मेदवारी घोषणाले नगरको चुनावी माहोलमा नयाँ चर्चा सुरु भएको छ।

साह नेपाली कांग्रेसका पुर्व सह महामन्त्री ,महाधिवेशन प्रतिनिधि एवं चिरपरिचित युवा नेताको रुपमा कार्य गर्दै आईरहेको छ ।