शम्भु चौधरी, लहान ५ कार्तिक । मधेश प्रदेश सहित तराईका विभिन्न जिल्लामा दाजुभाइ तथा दिदीबहिनीबीचको माया, प्रेम र स्नेहलाई प्रगाढ बनाउने परम्परागत पर्व सामाचकेवा श्रद्धा र उल्लासका साथ मनाइँदै आएको छ।
विशेषगरी मिथिलाञ्चलका थारु बाहुलियता भएका क्षेत्रमा विशेष धुमधामका साथ मानाईन्छ । यो पर्वले पारिवारिक सम्बन्ध, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
सामाचकेवा पर्व कार्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाउने परम्परा छ। यस अवधिमा दिदीबहिनी तथा युवतीहरू साँझपख समूहमा भेला भई माटोबाट बनाइएका सामा, चकेवा, चुगला लगायतका विभिन्न आकृतिहरू राखेर परम्परागत गीत गाउँदै रमाइलो गर्ने गर्छन्। गीत तथा कथामार्फत दाजुभाइप्रतिको प्रेम, सद्भाव र पारिवारिक सम्बन्धको महत्व उजागर गरिन्छ।

यस पर्वको मुख्य विशेषता दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्नु हो। पर्वको अन्तिम दिन पूर्णिमामा दाजुभाइको उपस्थितिमा सामाचकेवाका मूर्तिहरू विसर्जन गर्ने परम्परा रहेको छ। यस अवसरमा दाजुभाइले दिदीबहिनीप्रति सम्मान, माया र आत्मीयता प्रकट गर्ने गर्छन्।
सामाचकेवा केवल धार्मिक तथा सांस्कृतिक पर्व मात्र नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मिथिला संस्कृतिको महत्वपूर्ण धरोहर पनि हो। आधुनिकताको प्रभावसँगै कतिपय परम्परागत संस्कार ओझेलमा पर्दै गएको अवस्थामा सामाचकेवा पर्वले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति, लोकगीत र मौलिक परम्परासँग जोड्ने काम गरिरहेको छ।
दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै प्रेम, विश्वास, त्याग र सद्भावको सन्देश दिने सामाचकेवा पर्वले नेपाली समाजमा पारिवारिक एकता तथा सांस्कृतिक संरक्षणको महत्वलाई समेत उजागर गरेको छ।
