गुल्मी १८ माघ । जिल्लाको रेसुंगा नगरपालिकाले रेसुंगा माध्यमिक बिधालयमा अध्ययन गर्ने ६५ जना विपन्न विद्यार्थीहरुको अध्यनमा सघाउन दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
विद्यालयको प्राथमिक तहमा अध्ययन गर्ने ३७ जना विद्यार्थीहरुका लागि जनही दूईहजार सात सय पचास रुपैयाँका दरले र माध्यमिक तहमा अध्ययन गर्ने २८ जना विद्यार्थीका लागि जनही तीन हजार पाँच सय रुपैयाँका दरले आर्थिक सहयोग गरेको विद्यालयका प्रधानाध्यापक प्रेमनारायण भण्डारीले जानकारी दिए।
विद्यालयमा अध्ययन गर्ने विपन्न, दलित र जेहेन्दार विद्यार्थीहरु आर्थिक रुपमा कमजोर भएतापनि शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यका साथ आर्थिक सहयोग गरिएको रेसुंगा नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए।
आर्थिक अभाबकै कारण विद्यार्थीहरुले बिचैमा कक्षा छाडने गरेकाले उनीहरुलाई निरन्तर रुपमा विद्यालयमा ल्याउनका लागि यसले ठूलो टेवा पुग्ने नगरपालिकाले दाबी गरेको छ।