जनकपुर, २० कार्तिक । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियारले पदभार ग्रहन गरेका छन् । बुधबार विहान जनकपुर आइपुगेका प्रमुख परियारले प्रदेश सरकाको मधेश भवन पुगेर आज देखि नै पदभार ग्रहन गरेका हुन् ।
प्रदेश प्रमुख परियारले सञ्चारकर्मी समक्ष बोल्दै सरकारसँग मिलेर अघि बढ्ने बताउँदै पारित भएको विधेयक अध्ययन गरी प्रमाणित गर्ने बताएका छन् । ‘अब शान्ति र अमनचयनका लागि काम गर्नुपर्ने आवश्यक्ता रहेको छ,’उनले भने,‘सरकारसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्छु।’प्रमुख परियारले पदको आत्म समिक्षा गर्दै आफू एउटा पार्टीबाट नियुक्त भएपनि अब कुनै पार्टी विशेषको व्यक्ति नभएको औल्याएका छन् । ‘अब म समग्र देशको मान्छे हुँ,’उनले भने,‘कुनै पार्टीको मान्छे होइन । अब समग्र देशका लागि काम गर्छु ।’
प्रमुख परियारलाई समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव, मुख्यमन्त्री लालबाबु राउत र नेकपाका नेता तथा कार्यकर्ता जनकपुर विमान स्थल पुगेर स्वागत गरेका छन् ।
संघीय सरकारका उप–प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री यपेन्द्र यादवले प्रमुख परियारलाई मिथिला नगरीमा स्वागत गरेका छन् । उपप्रधानमन्त्री यादव काठमाडौं जान लागेका बेला एयरपोर्टको भिआइपी कक्षमा भेट गरेर परियारलाई स्वागत गरेको हो ।