सिरहा ८ आश्विन। नेपाली कांग्रेसले सिरहासहित प्रदेश २ का सबै जिल्ला सदरमुकाममा सरकारविरुद्ध प्रदर्शन गरेको छ । दोस्रोचरणको राष्ट्रिय जागरण कार्यक्रम समापनको अवसरमा केन्द्रको निर्देशनअनुसार कांग्रेसले मंगलबार विरोध प्रदर्शन गरेको हो ।
जिल्लाभरबाट आएका कांग्रेस नेता तथा कार्यकर्ताहरुले जिल्ला सदरमुकाम सिरहामा नाराबाजी सहितको विरोध ¥र्याली प्रदर्शन गरे ।
बलात्कारी, भ्रष्टाचारी, भूमाफियाहरुलाई सरकारले नै संरक्षण गरेको, सामान्य नागरिकहरुबाट चर्को कर असुल्ने तर करछली गर्ने एनसेल कम्पनीलाई कर छुट गराएको, नेपाली जनतालाई रेल र पानी जहाजका सपना देखाएर आफ्ना आसेपासेहरुको सम्बृद्धिमा लागेको भन्दै कांग्रेसले प्रदर्शन गरेको हो ।
नेपालमा संविधान घोषणा भएको दिनका अवसरमा आयोजित संविधान दिवसका अवसरमा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको बोली नबुझिएको भनी अपमान गरेका भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको अभिव्यक्ति विरुद्ध पनि नाराबाजी गरेका छन् ।
उनीहरुले मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि गरिएको आन्दोलनमा राणाहरुको यातनाबाट पार्टी सभापतिले जिब्रोमा करेन्ट खाएर बोली गुमाउनु परेको भन्दै त्यसैको उपलब्धि पश्चात् भएकी राष्ट्रपतिले पार्टी सभापतिको अपमान गर्ने कुनै अधिकार नभएको बताएका छन् । विरोध सभामा नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ढुंगाना, डा. चन्द्रमोहन यादव सिरहा सभापति रामचन्द्र यादव, नेता रामसरोज यादव लगायतका वक्ताहरुले वर्तमान अधिनायकबादी सरकारविरुद्ध कांग्रेसले फेरि एकपटक आन्दोलन गर्नुपर्ने अवस्था आएको औल्याए । अपन दैनिक