प्रदेश २ · मुख्य समाचार

वीरगन्जको परवानीमा तेल उद्योगमा भीषण आगलागी,क्षतिको विवरण आउन बाँकी

वीरगन्ज सम्वादाता, २१ असार । वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा आज (शनिबार) बिहानैदेखि भीषण आगलागी भएको छ ।

उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो ।

बिहान साढे २ बजेदेखि शुरु भएको आगलागीलाई बारा पर्साको विभिन्न स्थानबाट आएको बारुणयन्त्रको सहयोगमा अग्निनियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले नियन्त्रण गर्ने प्रयासमा लागेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आगोलाई नियन्त्रण गर्न वीरगञ्ज, पोखरिया, सिमरा, अमलेखगञ्ज कलैयाबाट बारुणयन्त्र बोलाइएको बताए ।

तेलमा लागेको आगोलाई नियन्त्रण गर्न फोमको प्रयोग बारुणयन्त्रकर्मीले गरे पनि फोमको उपलब्धता कम भएकाले नियन्त्रणमा समस्या देखिएको प्रजिअ भट्टराईले जानकारी दिए ।

वीरगञ्जमा फोम नभेटिएको कारण भारतको मोतिहारी तथा काठमाडौँबाट मगाउने प्रयास भइरहेको बताए । आगलागीबाट हुने क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

राति उद्योगमा कोही नभएको बेला बिजुलीको तार सर्ट भई आगलागी भएको हुन सकिने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।