सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरमा नेपाली सेनाको प्राविधिक सहयोगमा जिल्लामै पहिलो सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ ।
गत वैशाखदेखि कल्याणपुर खानेपानी आयोजनाको भवनमा सञ्चालित यस केन्द्रको औपचारिक उद्घाटन मंगलबार प्रदेश सभा सदस्य रुबी कर्ण र सिरहाको चोहर्वास्थित नेपाली सेनाका नं. २७ बाहिनीपति सहायक रथी बाबुराम श्रेष्ठले संयुक्त रूपमा गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, खडक जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरञ्जन यादव, नगरकी उपप्रमुख ज्यासमिन सुल्तान खातुनलगायत सहभागी थिए ।
सर्पदंश उपचार केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उसमान मियाँले उपचार केन्द्र सञ्चालनमा आएसँगै सर्पको टोकाइले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था टर्ने बताए ।
‘११ वर्षअघि सात वर्षीय नाति इमरानलाई सर्पले टोकेपछि तत्काल चाहर्वा पु-याएर ज्यान बचाएको थिएँ । अन्यले पनि मैलेजस्तै सास्ती झेल्नुनपरोस् भनेर करिब नौ महिनाको अथक मिहिनेतले केन्द्र स्थापना र थालनी त भयो, तर उपचारका लागि नयाँ पूर्वाधारसमेत आवश्यक छ,’ उनले भने ।
केन्द्रमा वैशाखदेखि १५ असारसम्म अढाइ महिनाको अवधिमा दुई सय ९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको सेनानी प्रतापरघुनन्दन थापाले जानकारी दिए । सेनानी थापाका अनुसार नं. २७ फि.ए. गुल्म चोहर्वामा एक सय ५८, शेरगण बन्दीपुरमा ९१ र रणभिम गण गौरीडाँडा (महोत्तरी) मा ४२ जनाको उपचार गरिएको छ ।
त्यसअघि ०७५ मा चोहर्वामा सात सय १५, बन्दीपुरमा आठ सय नौ र गौरीडाँडामा सात सयजना गरी एक हजार चार सय २६ जनाको उपचार गरिएको सेनानी थापाले उल्लेख गरे ।