आरोहण शाह वीरगञ्ज,१३ आषाढ ः प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दुर्घटना न्युनिकरण गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ ।
प्रदेश नम्बर २ ट्राफीक प्रहरी कार्यालय पथ्लैया बाराले आज वीरगञ्जमा आयोजना गरेको सडक सभ्यता अभिबृद्धी एवम सवारी दुर्घटना न्युनिकरणमा समुदाय प्रहरी साझेदारी सम्बन्धी एक दिवसीय ट्राफीक प्रहरी तथा सरोकारवालाहरुको सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले ट्राफीक नियम पालना गर्ने सवालमा हामी तपाई सभ्य र सचेत भयौ भने धेरै हद सम्म दुर्घटना न्युनिकरण गर्न सकिने बताउनु भयो । ट्राफीक प्रहरी अहिले पनि पुरानै परम्परा शैलीमा चेकजाच गर्ने गरेको बताउदै मुख्यमन्त्री राउतले अहिले प्रविधियुक्त जमानामा ट्राफीक प्रहरी पनि प्रविधियुक्त हुन सुझाव दिनु भयो । ट्राफीक प्रहरीको सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकार सबै प्रकारको सहयोग गर्न तयार रहेको बताउनु भयो ।
प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक डिआइजी प्रधुम्न कार्कीले सभ्यताले नै सचेतना जगाउने भएकाले हामी सबै पहिला आफै परिवर्तन हुन जरुरी रहेको बताउनु भयो । ट्राफीक नियम केवल ट्राफीकका लागी मात्र हैन यो हामी सबैको लागी हो भन्ने बुझेर मन बचन र कर्मले छातीमा हाथ राखेर ट्राफीक नियमको पालना गरिदिन आग्रह गर्नु भयो ।
प्रदेश नम्बर २ का आन्तरिक मामीला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सडक मैत्री कानुन नभएकाले सडक दुर्घटनामा बृद्धी भइरहेको बताउनु भयो । सडक सुरक्षालाई प्रभावकारी बनाउन प्रदेश सरकारले सडक मैत्री कानुन बनाउन लागेको जानकारी दिनु भयो ।
प्रदेश सरकारले ‘प्रदेश प्रहरी ऐन’ ल्याइसकेको र एक हजार प्रहरी भर्ना गर्ने तयारी रहेको भन्दै उहाँले संघीय प्रहरी ऐन छिटो आउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले प्रदेशको ट्राफिक व्यवस्थापन चुस्त राख्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव, प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कुमार कार्की, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई , प्रदेश नम्बर २ ट्राफीक प्रहरी कार्यालय पथ्लैयाका प्रमुख प्रहरी उपरिक्षक योग बहादुर पाल लगायतको उपस्थिती रहेको थियो ।