काठमाडौं ९ असार । चालु आर्थिक वर्षदेखि सेयर बजारको पहुँच नेपालका ७७ वटै जिल्लामा विस्तार भएको छ । कुनै बेला राजधानी केन्द्रित सेयर बजार नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको सक्रियतामा ७७ जिल्लामै पुगेको हो ।
सीडीएससी एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबारसम्म १५ लाख ३८ हजार ६ सय ३ वटा डिम्याट खाता खोलिएका छन् । यो संख्या भित्र ७७ वटै जिल्लाका नागरिक रहेको लिमिटेडले जनाएको छ । सीडीएसबाट प्राप्त तथ्यांक अनुसार यि डिम्याट खातामा ४ अर्ब २७ करोड ७६ लाख ९१ हजार ९ सय ७६ कित्ता सेयर रहेका छन् ।
धितोपत्र बोर्ड आफैले २०७३/७४ देखि सेयर शिक्षाको कार्यक्रम सञ्चालन गर्दै आएको छ । बोर्डले आर्थिक वर्ष २०७३/७४ मा ५ वटा प्रदेशमा २१ वटा कार्यक्रम आयोजना गरेको थियो । यो कार्यक्रममा त्यस वर्ष २ हजार ५ सय ६५ सहभागी भएका थिए । गत आर्थिक वर्षमा बोर्डले ६ वटा प्रदेशमा विभिन्न समयमा ३१ वडा साक्षरताका कार्यक्रम सञ्चालन गरेको थियो ।
सेयर बजारसम्बन्धी जानकारी कमै मात्रै रहेका बेला बोर्ड र नेप्सेले तल्लो स्तरमा पुगेर सेयर शिक्षा सम्बन्धी कार्यक्रमहरुलाई प्राथमिकता दिएका छन् । जसको फलस्वरुप सबै जिल्लाका नागरिक सेयर बजारमा जोडिएको बोर्ड बताउँछ ।
गत वर्ष गरेको ३१ वटा साक्षरता कार्यक्रममा ४ हजार ३ सय ७० जना प्रत्यक्ष सहभागी भएका थिए । चालु आर्थिक वर्षमा पनि बोर्डले साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । चालु वर्षको तथ्यांक भने बोर्डले सार्वजनिक गरेको छैन ।
साक्षरता कार्यक्रममा बोर्डले संघ/संस्था, लगानीकर्ताहरु साथै पत्रकारहरुसमेतलाई सहभागी गराउने गरेको छ ।