मुख्य समाचार

राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीकाे भेटवार्ता

Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhandari about his visit to India at the latter's Office in Sheetal Niwas on Thursday, February 18, 2016. Photo: RSS

काठमाडौं, १५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता भएकाे छ ।

उनीहरूका वीच आइतवार राति अबेर राष्ट्रपति शीतल निवासमा भेटवार्ता भएको हाे ।

पार्टी सचिवालयका बहुसंख्यक सदस्यहरूले सचिवालय बैठकको माग गरिरहेको सन्दर्भमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री ओली राष्ट्रपति निवास पुगेको अड्कल गरिएको छ ।

नेकपाका बहुसंख्यक स्थायी समिति सदस्यहरूले बैठकको माग गरेर हस्ताक्षर संकलन गरी बुझाएका बेला ओलीले भण्डारीलाई भेटेका छन् ।

कोरोना भाइरसको महामारीमा बैशाख ८ गते ल्याएको राजनीतिक दल विभाजन र संवैधानिक परिषद सम्बन्धी अध्यादेशका कारण प्रधानमन्त्री र राष्ट्रपति दुबैको चर्को विरोध भएपछि उक्त अध्यादेश चारदिन पछि फिर्ता भएको थियो ।

अध्यादेशलाई लिएर दुबैको व्यापक आलोचना भएपछि आगामी परिस्थितिमा आफूहरुलाई कसरी लैजाने भन्ने बिषयमा छलफल भएको हुनसक्ने नेकपा स्रोतले बताएको छ ।

अध्यादेश रातारात जारी गर्ने र खारेज गर्ने बिषयलाई लिएर नेकपामा प्रधानमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने चर्चा पनि चल्न थालेको छ ।दैनिक नेपाल