मुख्य समाचार

माेरङ – केपी शर्मा ओली र नरेन्द्र मोदीद्वारा ‘स्विच’ थिचेर एकीकृत चेक पाेस्टकाे उद्घाटन

माेरङ ७ माघ ।  प्रदेश १ मा विराटनगर महानगरपालिकाको भेडियारीमा निर्माण भएको एकीकृत चेक पाेस्ट (आईसीपी) काे मङ्गलबार उद्घाटन भएकाे छ ।

नेपाल–भारतको संयुक्त लगानीमा विराटनगरमा निर्मित आईसीपीको प्रधानमन्त्री केपी ओली र भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गर्नु भएकाे हाे । आज बिहान ११ बजेकाे समयमा भिडियाे कन्फ्रेन्समार्फत दुवै प्रधानमन्त्रीले ‘स्वीच अन’ गरेर आईसीपीकाे उद्घाटन गर्नुभयाे ।

प्रधानमन्त्री ओलीले काठमाण्डाै र नरेन्द्र मोदीले दिल्लीबाट भिडियोमार्फत् आईसीपीकाे उद्घाटन गर्नु भएकाे हाे । आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका १८ मा निर्मित आईसीपी सञ्चालनका लागि तयार भइसकेकाे छ ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ‌ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई नेपाल भ्रमणकाे निम्ता दिनुभयाे । साथै माेदीले दुई देशबीचकाे सम्बन्धकाे आयामलाई कायम राख्नु पर्ने बताए ।

सन् २०१७ मा भारतको गुजरात राज्यकाे दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालीले आईसीपीको निर्माणको ठेक्का पाएसँगै काम सुरु भएकाे थियो । एक अर्ब १४ करोड भारतीय रुपैयाँको लागतमा इन्फ्राकनले आईसीपी निर्माण सम्पन्न गरेको जनाएको छ । सन् २०१८ भित्रै निर्माण सक्नुपर्ने सम्झौता भए पनि सम्झौता अनुसार काम भने भएन ।

आईसीपी एक सय २९ बिघा क्षेत्रफलमा फैलिएको छ । आईसीपी परिसरबाहिर ४० बिघा जमिन छ । त्यसबाट दुई लेनको सडक र पछि आवश्यकताअनुसार ६ लेनसम्मको बनाइनेछ । सीमाको दसगजालाई आधार बनाएर आईसीपी निर्माण गरिएको हो ।

नेपाल भित्रने पयर्टकीय सवारी, मालवाहक सवारी भारतीय जाँच केन्द्र हुँदै नेपाली जाँच केन्द्रमा प्रवेश गर्नेछ । यी सवारीलाई धर्मकाँटामा राखेर नापतौल गरिन्छ र पार्किङ प्लटमा सवारी व्यवस्थापन गरिन्छ । त्यही क्षेत्रमा भन्सार राखिने भएकाले त्यहीँबाट उद्योगीले सवारीसाधन आफू अनुकूल बाहिर निकाल्न सक्ने छन् । उज्यालोबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।