मुख्य समाचार

समाजवादी पार्टीसँग कुनै सल्लाह नगरेको भन्दै सरकार छाड्न पार्टीमा दबाब अध्यक्ष डा.बाबुराम भट्टराई

काठमाडौँ ४ पुस । समाजवादी पार्टीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र त्यो दलले नेतृत्व गरेको सरकारसँग वार्ता गर्नका लागि चार सदस्यीय उच्चस्तरीय वार्ता समिति गठन गरेको एक महिना भइसक्यो । तर, हालसम्म एकपटक पनि वार्ता भएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्मा हेरफेर गर्दा समाजवादी पार्टीसँग कुनै सल्लाह नगरेको भन्दै सरकार छाड्न पार्टीमा दबाब परेपछि नेकपा र नेकपा नेतृत्वको सरकारसँग वार्ता गर्न पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । वार्ता समितिमा अध्यक्ष भट्टराईका साथै अर्का अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशाके राइ र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ रहेका छन् ।

यसरी एउटा दलले शीर्ष तहको नेता राखेर वार्ता समिति गठन गरेको नेपाली राजनीतिमा पहिलो घटना हो । यसैबाट पुष्टि हुन्छ कि समाजवादी पार्टीले वार्ता र संवादलाई कति महत्त्व दिएको छ । तर समितिले वार्ताका लागि प्र्धानमन्त्री ओलीको तर्फबाट अझैसम्म केही ‘सिङ्गल’ पाएको छैन ।

पार्टीका महासचिव गङ्गा श्रेष्ठका अनुसार पार्टीले वार्ता समिति गठन गरेको कुरा सम्बन्धित पक्षलाई जानकारी गराइसके पनि तर हालसम्म कुनै रेसपोन्स आएको छैन ।

अध्यक्ष यादवको नेतृत्वमा समाजवादी पार्टी सरकारमा सहभागी छ । तैपनि सरकारको नेतृत्व गरेका दलसँग वार्ता हुनसकेको छैन । प्रधानमन्त्री आली नेतृत्वको मन्त्रीपरिषद्मा उपेन्द्र यादव भएपनि दुवैजनाको बीचमा भेटघाट नभएको महिनौँ भइसक्यो । अध्यक्ष उपेन्द्र यादवले छलफल गर्न पटक–पटक टाइम माग गरे पनि प्रधानमन्त्री ओलीको अस्वस्थताको कारण देखाउँदै त्यसलाई टार्ने काम भइरहेको छ ।
समाजवादी पार्टीलाई समय दिन आनाकानी गरिरहेका प्रधानमन्त्री ओलीले हालै राष्ट्रिय जनता पार्टी नेपालसँग भने वार्ता गरेर दुई बुँदे सम्झौता गरेका छन् । सत्ता साझेदार दललाई वार्ताका लागि समय नदिएर राजपा नेपालसँग वार्ता गर्न प्रधानमन्त्री ओलीलाई फुर्सद हुनु भनेको प्रधानमन्त्री पार्टीसँग सन्तुष्ट नरहेको संकेत भएको समाजवादी पार्टीका नेताहरु बताउँछन् । रातोपाटिबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।