काठमाडौं ११ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भाषण टिठलाग्दो भएको बताएका छन् ।
बुधबार कास्कीमा चुनावी सभालाई सम्बोधन गरेका प्रचण्डले सोही ठाउँमा चार दिन अघि मात्र देउवाले ‘प्रधानमन्त्री केपी ओलीसँग मिलेर भारतले नयाँ नक्सा जारी गरेको’ भनेकोप्रति कडा जवाफ दिँदै भने,‘यस्ता उटपट्याङ कुरा गर्न सुहाउँछ ? यो तालले कांग्रेस एकादेशको पार्टी हुनसक्छ ।’
हत्केलाले सूर्य छेक्ने कोशीश गरी देउवाले बयानबाजी गरेको बताएका प्रचण्डले भने,‘शेरबहादुरजीले झुठ बोल्नु भएको छ । यस्तो बेइमानी कुरा गर्न मिल्छ ?’शान्ति सम्झौताका बेला गिरीजाप्रसाद कोइरालासँग हस्ताक्षर गरेको, कोइरालाले नेपाल तपाईको जिम्मा है भनेर राजनीतिक अभिभारा सुम्पिएको स्मरण गर्र्दै प्रचण्डले जोडे,‘गिरीजाप्रसाद कोइरालाको पार्टी यति तलसम्म गिर्छ, यस्तो बेइमानी कुरा गर्छ भन्ने म चिताउदिन ।’
देउवाको भाषणबाजीका कारण कांग्रेस प्रतिपक्षमा समेत बस्न लायक पार्टी नहराला भन्ने चिन्ता लागेको भन्दै प्रचण्डले भने,‘शान्ति सम्झौतामा हस्ताक्षर गरेको पार्टी कम्तिमा साह्रै तल नगिरोस् भन्ने चहान्छु । देउवाको त्यहि बेइमानी कुराले कास्की–२ मा विद्या भट्टराईको जीत सुनिश्चित भएको छ ।’ र्दैनिक नेपालबाट
