चितवन ९, मंसिर, । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियतालाई चुनावी एजेण्डा नबनाउन आग्रह गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा अभिव्यक्ति दिएपछि प्रचण्डले सार्वजनिक रुपमै प्रतिवाद गरेका हुन् । सोमबार चितवनको भरतपुर महानगरपालिका १६ मा आयोजित उपनिर्वाचनको चुनावी सभामा उनले भने ‘देउवाजी जस्ता साथीहरु झुटा कुरा नगरौं, भौगोलिक अखण्डता, राष्ट्रिय अखण्डता र एकता जस्ता कुरा चुनावी एजेण्डा होइनन् ।’
प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकोमा कुनै द्विविधा नभएको भन्दै भारतसँग कुटनीति ढंगबाट वार्ता गरी जमिन फिर्ता गरिने बताए । ‘सुगौधी सन्धिको धारा ५ अनुसार कालीनदीभन्दा पूर्वको जमिन नेपालको हो, हामीले भारतलाई यसबारेमा पत्रको डाफ्टसमेत पठाइसकेका छौं’, प्रचण्डले भने ‘हाम्रो एक इन्च भूमि पनि दिदैनौं भारतको एक इन्च पनि चाहिँदैन ।’
