मंसिर ७ काठमाडौँ । नेपालको संविधानमा भएको व्यवस्थाअनुसार गठित मधेशी आयोगले मधेशी समुदायको पहिचान अझै अस्पष्ट भएको भन्दै उक्त समुदायअन्तर्गत पर्ने थरहरूलाई सूचीकृत गरी मधेशीलाई परिभाषित गर्न सरकारलाई आग्रह गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमवार बुझाइएको प्रतिवेदनमा विभिन्न सिफारिस गरिएको छ। मधेशी समुदायको पहिचानलाई स्पष्ट पार्नेबाहेक तराईका कतिपय समस्या हल गर्न पहल गर्नुपर्ने भनी ध्यानाकर्षण पनि गराइएको छ।
आयोगले कुन कुन जातिलाई मधेशी मान्ने त्यसबारे सबै निकायलाई परिपत्र गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
साथै विवाद भएका खण्डमा कुन व्यक्ति मधेशी हो वा होइन भन्नेबारे अन्तिम निर्णय गर्ने अधिकार आफूलाई दिइनुपर्ने उल्लेख छ।
तीन महिनाअघि विजयकुमार दत्त अध्यक्ष नियुक्त भएपछि आयोगले आफ्नो काम थालेको थियो। उसले तराईका विभिन्न जिल्लामा आफूले गरेका गतिविधि र सरकारलाई दिएका सिफारिसको सूची वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ।
तर अहिलेसम्म आयोगले पूर्ण स्वरूप पाइसकेको छैन। आयोगमा अझै चार सदस्यको नियुक्ति हुन बाँकी छ। वि वि सी न्युजबाट
