पर्सा सम्वादाता, १२ साउन । वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवाहरू बन्द हुने भएका छन्।
आन्दोलनका कारण ओपीडी सेवा, नियमित शल्यक्रिया, स्वास्थ्य परीक्षण तथा फलोअप सेवा प्रभावित भएका छन्। यद्यपि आकस्मिक सेवा, आईसीयू, प्रसूति, सघन उपचार तथा जीवनरक्षक सेवा भने सञ्चालनमा राखिएको अस्पतालहरूले जनाएका छन्।
चिकित्सकहरूले स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न, दोषीलाई कानुनी दायरामा ल्याउन र स्वास्थ्य संस्थामा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ”चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसप्रति राज्यको उदासीनता तथा दमनको विरोधमा आज मंगलबार देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्दछौँ।”
यस आन्दोलनका कारण उपचारका लागि अस्पताल पुगेका बिरामी र सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ। धेरै अस्पतालले अत्यावश्यकबाहेकका सेवा स्थगित गरिएको सूचना जारी गर्दै बिरामीलाई आवश्यक परेमा आकस्मिक सेवामार्फत उपचार लिन आग्रह गरेका छन्।
सरकार र आन्दोलनरत पक्षबीच वार्तामार्फत समस्या समाधान गर्ने प्रयास जारी रहेको जनाइएको छ। वार्ताको निष्कर्षअनुसार आगामी दिनमा स्वास्थ्य सेवा सञ्चालनको अवस्थाबारे थप निर्णय हुने अपेक्षा गरिएको छ।