शम्भु चौधरी, ,लहान २४ असार । सिरहाको औरही गाउँपालिकाले भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै विभिन्न महत्वाकांक्षी योजना अघि बढाएको छ। यसै क्रममा गाउँपालिका स्थित श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहीमा तीन कोठे छात्रावास र दुई कोठे महिला तथा पुरुषका लागि छुट्टाछुट्टै शौचालय सहितको भवन निर्माण कार्यको शिलान्यास मंगलबार गाउँपालिका अध्यक्ष शिवजी यादवले गरेका छन्।
हाल पलस टु सम्म अध्ययन–अध्यापन हुँदै आएको विद्यालयमा उच्च शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले आवश्यक भौतिक संरचना निर्माण भइरहेको अध्यक्ष यादवले बताए । उनका अनुसार भविष्यमा स्नातक तहसम्मको अध्ययन सञ्चालन गर्न सक्ने वातावरण तयार गर्ने लक्ष्यका साथ स्थानीय सरकारले पूर्वाधार विकासमा लगानी बढाएको हो।

निर्माणाधीन भवन एपी ब्रेभ सीए कन्स्ट्रक्सन जेभीले निर्माण कार्य थालेको छ। दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सहित निर्माण सुरु भएको उक्त परियोजनाको कुल लागत ३ करोड ३९ लाख रुपैयाँ रहेको अध्यक्ष यादवले बताए।
शिलान्यास गर्दै अध्यक्ष यादवले गाउँपालिकाको समग्र विकास योजनाबारे पनि धारणा राख्दै सिरहा जिल्लामै नमुना बन्ने गरी गाउँपालिकाको आफ्नै लगानीमा ६ तले प्रशासकीय भवन निर्माण भइरहेको बताए।
भवन सम्पन्न भएपछि गाउँपालिकाका विभिन्न वडाबाट समेत सहजै देख्न सकिने ऐतिहासिक संरचनाका रूपमा विकास गरिने उनको भनाइ थियो। साथै, आगामी सरस्वती पूजाको अवसरमा उक्त प्रशासकीय भवन उद्घाटन गर्ने लक्ष्य रहेको समेत उनले आंकलन गरे।
अध्यक्ष यादवले आफ्नो चार वर्षे कार्यकालमा अघिल्ला स्थानीय सरकारको तुलनामा भौतिक पूर्वाधार निर्माण, सडक विस्तार, कृषि सडक, कृषि विद्युतीकरण तथा किसानमुखी कार्यक्रमलाई विशेष प्राथमिकता दिएको दाबी गरे। हाल सम्म करिब ६ सय वटा बोरिङ सञ्चालनमा रहेकोबताए ।
किसानका लागि सिँचाइ विद्युत् मिटरको महसुल गाउँपालिकाले तिर्ने व्यवस्था गरिएको बताए। सामाजिक सुरक्षा तथा समावेशी विकासलाई समेत प्राथमिकतामा राखिएको उल्लेख गर्दै अध्यक्ष यादवले दलित, गरिब, मुस्लिम तथा अतिविपन्न परिवारलाई ३० युनिटसम्मको विद्युत् निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिए।