मुख्य समाचार · समाचार

महोत्तरीमा दुई पक्षबीच झडप : एकजनाको मृत्यू, ४ घाइते ! २ जना पक्राउ

मटिहानी नगरपालिका–३ बरदाहा गाउँमा शौचालय निर्माणबारे भएको विवादले उग्ररुप लिएपछि झडप हुँदा २६ वर्षीय जाविर राइनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार झडपको बेला दुवै समूहले लाठी र चिर्पट प्रयोग गरेका थिए ।

मामा–भान्जा स्थानीयवासी मोस्लिम राइन र मोतालिभ राइनबीच मंगलबार शौचालय निर्माणबारे विवाद भएको डीएसपी विष्टले बताए । सोही बेला लाठी र चिर्पट हानाहान भइरहेकै बेला मोतालिभले जाविरको टाउकोमा बाँसको लाठीले लागेर गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

सोही घटनामा मोतालिम राइन, छोटन राइन, हजरत राइन र मीना खातुन गम्भीर घाइते भएका छन् ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मोतालिभ राइन र असरफ राइनलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।