जनकपुर, २४ भदौ ।मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन मङ्गलबार हुँदैछ । मंगलबार पाइपलाइनको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
पइपलाइनको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री ओलीले र उहाँका भारतीय समकक्षी मोदीले नयाँ दिल्लीस्थित हैदराबाद भवनबाट संयुक्त रुपमा डिजिटल अर्थात ‘हाइटेक’ प्रविधिबाट उद्घाटन गर्ने कार्यक्रम रहेको जनाएको छ ।
दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनका रूपमा रहेको पेट्रोलियम पाइपलाइनको उदघाटनको सम्पूर्ण तयारी समेत पूरा भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताए ।
रिमोटको सेन्सर हुँदै कम्प्युटरको सेन्सरमार्फत अमलेखगन्जस्थित डिपोको युनिटको भल्व खुल्ने छ र त्यसपछि पाइपलाइनमार्फत नियमित रूपमा तेल आपूर्ति सुरु हुने छ । यसअघि नै सो पाइपलाइनको सफल परीक्षण भइसकेको छ । उद्घाटनसँगै विगत डेढ दशकदेखि चर्चामा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनले पूर्णता पाउने छ ।
नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतले उद्घाटनसँगै सो पाइपलाइन हुँदै भारतबाट नियमित पेट्रोलियम पदार्थ आपूर्ति सुरु हुने जानकारी दिए । दुवै मुलुकका प्रधानमन्त्रीले रिमोट थिच्नुभन्दा अघि नै मोतिहारीस्थित इन्डियन आयल कर्पोरेसनको डिपोले तेल छोडिसकेको हुने छ ।
परीक्षणका क्रममा पाइपलाइनमा तेल भरिएको हुनाले मोतिहारीबाट छोड्नेबित्तिकै अमलेखगन्जमा तेल आइपुग्ने छ । पाइपलाइनमार्फत प्रतिघण्टा दुई सय किलोलिटर इन्धन अमलेखगन्जको डिपोमा खसाल्न सकिने छ ।
