मुख्य समाचार

कोरोना रोकथाम तथा महामारी नियन्त्रणका लागि सरकारले काम गर्न नसकेको भन्दै प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग

काठमाडौँ ५ जेष्ठ । कोरोना रोकथाम तथा महामारी नियन्त्रणका लागि सरकारले काम गर्न नसकेको भन्दै प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ ।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिपक्षी दलका सांसद दिव्यमणिराज भण्डारीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्राथमिकताका साथ काम गर्न नसकेको भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गर्नुभएको हो । सरकारमा रहेका मन्त्रीहरुले समेत प्रधानमन्त्रीलाई सहयोग नगरिरहेको अवस्थामा राजीनामा दिन उहाँले आग्रह गर्नुभयो । नीति तथा कार्यक्रममा जनताको ज्यान बचाउने, गासको व्यवस्था गर्ने र विदेशबाट आफ्ना नागरिक ल्याउने केही योजना नदेखिएको उल्लेख गर्दै उहाँले यो परिस्थितिमा प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिनुभयो । ‘‘अहिलेको परिस्थितिमा प्रधानमन्त्रीलाई आराम गर्न आग्रह गर्दछु । डाक्टरले भनेको छ आराम गर्न, मन्त्रीले साथ दिएका छै्रनन । देशलाई बचाउन, जनतालाई भोकबाट बचाउन र बाहिर रहेका नागरिकलाई बाटो खोल्न आग्रह गर्दछु ।’’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सीमामा अलपत्र नागरिकलाई स्वदेश भित्र्याउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउन नसक्ने बताउनुभयो ।
नीति तथा कार्यक्रममाथिको छलफलमा थापाले सीमा क्षेत्र र खाडीमा अलपत्र परेका नागरिकलाई ल्याउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउनै नसक्ने बताउनुभो । माटो मात्रै राष्ट्रियता नभएको उल्लेख गर्दै थापाले मान्छे र माटो दुबै राष्ट्रियता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘जसले खाडीमा अलपत्र परेकोलाई फिर्ता ल्याउन सक्दैन त्यसले मेरो भूमि ल्याइदिन्छ ? यो संसदमा राष्ट्रियतको विषयमा बहस हुन्छ । राष्ट्रियता भनेको माटो हो की मान्छे हो ? दुबै हो । जसले आफ्नो मान्छे चिन्न र जोगाउन सक्दैन त्यसले आफ्नो माटो जोगाउन सक्दैन् । जसलाई पसिनाको गन्धको आनन्को अनुभूति हुँदैन तयसले माटोके सुगन्ध पनि थाहा पाउन सक्दैन् ।
मान्छे जोगाउन नसक्ने, मान्छे फिर्ता ल्याउन नसक्ने सरकारले मेरो भूमि फिर्ता ल्याउँछ भन्ने रत्ति भरपनि भ्रम छैन् ।’’
कम क्षमता भएका मान्छेहरुले बनाएको नीति तथा कार्यक्रमका कारण देश दुर्घटना नजिक पुगेको उहाँले बताउनुभयो । सामान्य मानिसको क्षमता काम हुँदा क्षति कम हुने भएपनि कुनै कम्पनीको मालिक वा देश चलाउने मान्छेमा त्यो समस्या देखि बर्बाद नै हुने उहाँले बताउनुभयो ।
थापाले नीति तथा कार्यक्रम प्रधानमन्त्री एक्लैले लेख्ने कविता वा कुनै एक मन्त्रीले लुकेर लेख्ने अध्यादेश नभएको बताउनुभयो ।
विश्वमहामारीका कारण नेपालमा पनि ठूलो प्रभाव परेको कुरा नीति तथा कार्यक्रम उल्लेख किन भएन ? भन्दै उहाँले प्रश्न गर्नुभयो । नागरिकको खल्ति रित्तिदा देशको ढुकुटी नै रित्तिनेभएकाले यस्तो परिस्थितिमा गर्ने कामहरुको सूची किन आएन ? उहाँको प्रश्न थियो ।
उहाँले भन्नुभयो, ‘‘घरभित्र र बाहिरको आपूर्ति प्रणाली अस्तव्यस्त हुँदै गर्दा बारी देखी भकारीसम्म प्रभावित भएको यो बेलामा लामो गन्थन नलेखौँ तत्काल बारी र भकारीको प्रभावलाई कम कसरी गर्ने लेखौ भनेर कसैले भनेनन् ? रोजगारी बृद्धि ,हुन्छ नेपालको समृद्धि भन्ने नारा लेख्दै गर्दा यहि २ महिनामा लाखौ मानिस बेरोजगारी भइसके भनेर सकैले भनेनन् ? भोकले कोही मर्दैन, कोही भोकै हुँदैन भन्ने नारा लेख्दै गर्दा भोकले मरिसके भनेर सकैले भनेनन् ?’’

सरकारले कोरोना नियन्त्रणमा अभूतपूर्व काम गरेको उल्लेख गर्दै गर्दा परीक्षण कम भएर संक्रमण कम देखियो भनेर कसैले किन भनेन भन्दै उहँले प्रश्न गर्नुभयो ।
समाजवादी पार्टीका सांसद प्रदीप यादवले तत्काल नीजि अस्पताललाई राष्ट्रियकरण गरेर नागरिक बचाउन आग्रह गर्नुभएको छ । दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै उहाँले यस्तो बताउनुभएको छ । सरकारले लक डाउनको समयावधि बढाइरहेपनि संक्रमितको संख्या पनि बढिरहेको उहाँले बताउनुभयो । अहिलेका स्वास्थ्य पूर्वाधारहरु कोरोना रोकथामका लागि पर्याप्त नभएको उहाँले बताउनुभयो । कोरोना नियन्त्रणका लागि काम गर्न सरकारसँग प्रयाप्त समय भएपनि सरकारले त्यसो गर्न नसकेको उहाँले बताउनुभयो । यादवले सरकारले ल्याएका नीति तथा कार्यक्रम संघीयतामुखि देखिएको बताउुनभएको छ । कृषिको व्यवसायीकरण, अस्पताल निर्माण लगायतका अधिकतम योजनाहरु संघमुखि बनाएर संघीयतामाथि प्रहार भएको उहाँले बताउनुभो । ‘सबै काम संघले गर्ने भए प्रदेशका काम के ? देशलाई संघीय संरचनामा किन लग्यौँ ?’ उहाँले प्रश्न गर्नुभयो ।