महेश सिंह सिरहा-समाजवादी महिला संघ,नेपाल सिराहा जिल्ला कार्य समितिको दोस्रो अधिवेशन २०८१ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन लहानको रौनियार सेवा सदन (रोड नं. २) मा शुक्रबार दिउँसो १२:०० बजे आयोजित गरिएको थियो।
कार्यक्रमको अध्यक्षता समाजवादी महिला संघ सिराहा जिल्ला अध्यक्ष जानकी यादवले गर्नुभएको थियो, भने प्रमुख अतिथिका रूपमा पार्टीका केन्द्रीय सचिव सुरेश मण्डल उपस्थित रहनुभएको थियो। अधिवेशनमा माननीय राजकुमार गुप्ता, संजिला यादव, ललिता दास, पार्टीका जिल्ला अध्यक्ष अशोक यादव, जिल्ला समन्वय समितिका अध्यक्ष दिनेश महतो, ललिता यादव, शत्रुधन मण्डल, युवा नेता राकेश गुप्ता, राम उदगार महतो, प्रेमशिला यादव, बिनिता यादव, ललिता यादव, बिनिता चौधरी लगायत सयौं नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
अधिवेशनमा समाजवादी महिला संघको संगठन सशक्तिकरण, महिलाको सामाजिक, आर्थिक र राजनीतिक अधिकार प्रवर्द्धन गर्ने विषयमा छलफल गरिएको थियो। साथै, महिलाहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने र समाजमा समानता, सुशासन तथा सामाजिक न्याय कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
अधिवेशनले पुनः जानकी यादवलाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको छ। नवगठित कार्यसमितिले आगामी दिनहरूमा महिलाको अधिकार र सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताएको छ।
नव-निर्वाचित अध्यक्ष जानकी यादवले समाजवादी विचारधारालाई आत्मसात गर्दै महिला हकहितका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रममा उपस्थित नेताहरूले महिलाको राजनीतिक सहभागिता बढाउन आवश्यक नीति र कार्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।
अधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा सहभागीहरूले खुशी व्यक्त गर्दै समाजवादी महिला संघको आगामी यात्रा अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। नव निर्वाचित कार्य समितिलाई संजिला यादवले सप्तग्रहण गराएका थिए।