महेश सिंह लहान- निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) नेपाल, सिरहाको अध्यक्षमा पुनः उमेश चौधरी निर्विरोध चयन भएका छन्। लहान प्यारागन सेकेन्डरी बोर्डिङ स्कुलका सञ्चालकसमेत रहेका चौधरी ९औं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।
चौधरीसँगै वरिष्ठ उपाध्यक्षमा उमेश यादव, उपाध्यक्षमा धर्मेन्द्र यादव, सचिवमा सुरेश साह र कोषाध्यक्षमा खगेन्द्र लामा चयन भएका छन्।
शुक्रबार लहानमा सम्पन्न अधिवेशनको उद्घाटन जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतोले गरेका थिए। प्रमुख अतिथि महतोले निजी विद्यालयहरूले शिक्षामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै दलित र विपन्न वर्गका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गरे।
उनले भने, “आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस्। निजी विद्यालयहरूले यसतर्फ ध्यान दिनुपर्छ।”
कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष विकास कुमार शारदाले दलित वर्गका विद्यार्थीहरूको उच्च शिक्षामा पहुँच विस्तार गर्न जोड दिए। “मेरा तर्फबाट दुई जना दलित विद्यार्थीको सम्पूर्ण शैक्षिक खर्च व्यहोर्नेछु,” उनले भने।
शारदाले निजी विद्यालयहरूले शिक्षकको पारिश्रमिक सुधारमा ध्यान दिनुपर्ने धारणा पनि राखे। “शिक्षकले सम्मानजनक पारिश्रमिक पाउने वातावरण बनेन भने शिक्षाको गुणस्तरमा प्रभाव पर्नेछ,” उनले भने।
अध्यक्ष चौधरीले प्याब्सनले समाज रूपान्तरणका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाए। “विपन्न र दलित वर्गका विद्यार्थीलाई छात्रवृत्ति दिन हामी सदैव तत्पर छौं,” उनले भने। “विद्यालय र संगठन चलाउँदा धेरै चुनौती आउँछन्। तर, यी चुनौतीलाई व्यवस्थापन गर्दै शिक्षाको गुणस्तरमा सुधार ल्याउन हामी दृढ छौं।”
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड लहानका प्रमुख धनपति भेटवाल, प्याब्सन मधेश प्रदेश इन्चार्ज अनिल झा, विभिन्न संघ-संस्थाका प्रतिनिधि र पत्रकारहरूको उपस्थिति थियो। प्याब्सन सिरहाको यो नयाँ नेतृत्वले शिक्षा क्षेत्रको विकासमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।