देश बाहिर

भुलवश युक्रेनी विमान खसालिएको इरानी सेनाद्धरा स्वीकार

काठमाडौं, २६ पुस ।  भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ। शनिवार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले मानवीय त्रुटिका कारण विमान खसालिएको जनाएकाे हो।

दुर्घटनामा विमानमा सवार विभिन्न देशका सबै १७६ नागरिकको मृत्यु भएको थियो। सरकारी टेलिभिजनबाट सार्वजनिक गरिएको विज्ञप्तिमा उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने उल्लेख छ।

इरानी अधिकारीहरूले पश्चिमा देशको आरोपलाई हास्यास्पदु भन्दै खण्डन गरेका थिए तथा त्यसलाई अमेरिकाको मनोवैज्ञानिक कारबाहीको अंश बताएका थिए। इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो।

यसअघि इरानी क्षेप्यास्त्रका कारण उक्त यात्रुवाहक विमान बुधवार तेहरानमा दुर्घटनाग्रस्त भएको सङ्केत उपलब्ध प्रमाणले गरेको पश्चिमा देशका नेताहरूले बताएका थिए। तर इरानले त्यसको खण्डन गरेको थियो।

अमेरिकी सञ्चारमाध्यमहरूको अनुमानअनुसार विमान दुर्घटनाको समयलाई विचार गर्दा इरानले प्रत्याक्रमणस्वरूप हुन सक्ने सम्भावित क्षेप्यास्त्र प्रहारका लागि तयारी गर्दै गर्दा उक्त विमानलाई अमेरिकी लडाकु विमान भनेर झुक्किएको हुन सक्छ।

तेहरानबाट किएभका लागि उडेको युक्रेन इन्टर्न्याश्नल एअरलाइन्सको विमान ७५२ मा अधिकांश यात्रु इरान र क्यानडाका थिए। मृतकमध्ये १५ जना बालबालिका रहेको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।