अर्थनीति · छुटपुट · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार · सामाज

ग्रामीण महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास तथा स्वरोजगार प्रवर्द्धन लागी तीन दिने पुनर्ताजगी तालिम सञ्चालन

शम्भु चौधरी,सिरहा २३ असोज । कञ्चनपुर–कमला ९केके० सडक आयोजना अन्तर्गत ग्रामीण महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने पुनर्ताजगी तालिम शुक्रबारदेखि लहानमा सञ्चालन गरिएको छ।

असोज २३ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिएको उक्त तालिममा यस अघि व्यवस्थापकीय, उद्यमशीलता तथा प्राविधिक सीप विकाससम्बन्धी तालिम लिएका महिला समूह तथा कृषि सहकारीका प्रतिनिधिहरूको क्षमता अभिवृद्धिमा जोड दिइएको थियो।

केके सडक आयोजनाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जीईएसआई) कार्ययोजना अन्तर्गत सञ्चालन गरिएको पुनर्ताजगी तालिमले महिलाहरूलाई पहिले सिकेका ज्ञान तथा सीपलाई थप प्रभावकारी रूपमा व्यवहारमा उतार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। तालिममार्फत महिलाहरूलाई उद्यम सञ्चालन, व्यवस्थापन, उत्पादन तथा व्यवसाय विस्तारका विषयमा थप दक्ष बनाउने लक्ष्य राखिएको आजको प्रशिक्षक मुकेश कुमार महतोले बताए।

यसअघि आयोजनाले सिरहा र सप्तरीका १२ पालिकाका १२ महिला समूह तथा कृषि सहकारीका ७२ जना प्रतिनिधिलाई क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत तालिम प्रदान गरेको थियो। सो क्रममा तीनदिने (१८ घण्टा) व्यवस्थापकीय तथा उद्यमशीलता तालिम सञ्चालन गरिएको थियो भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटि) लहान मार्फत २१ दिने (१०८ घण्टा) च्याउ खेती तथा फलफूल प्रशोधन सम्बन्धी प्राविधिक तालिम प्रदान गरिएको थियो।

तालिम प्राप्त महिला समूहलाई उद्यम सञ्चालन गर्न प्रोत्साहन स्वरूप (जीईएसआई) कार्ययोजना अनुसार प्रतिघूमलाई १ हजार अमेरिकी डलर अर्थात् सम्झौता विनिमय दर अनुसार रु. १ लाख ३२ हजार १६० कार्यसम्पादनमा आधारित बिउ पुँजीसमेत उपलब्ध गराइएको थियो। अनुगमन तथा उपयोग प्रतिवेदन स्वीकृत भएपछि उक्त रकम तीन किस्तामा पूर्ण रूपमा निकासा गरिएको थियो।

आयोजनाका अनुसार बिउ पुँजीको उपयोग गर्दै अधिकांश महिला समूहले च्याउ खेती, फलफूल प्रशोधन तथा अन्य साना उद्यम सञ्चालन गरिरहेका छन्। यस्ता गतिविधिले महिलाको आयआर्जन वृद्धि, स्थानीय स्तरमा रोजगारी सिर्जना, बचत गर्ने बानीको विकास तथा आर्थिक आत्मनिर्भरता अभिवृद्धिमा सकारात्मक योगदान पुर्‍याएको छ।

केके सडक आयोजनाका लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ जीवन सिंहका अनुसार यसअघि प्रदान गरिएका तालिमबाट प्राप्त ज्ञान र सीपलाई अझ प्रभावकारी बनाउन तथा महिलाहरूलाई आफ्ना उद्यम सफलतापूर्वक सञ्चालन गर्न थप सहयोग पुर्‍याउने उद्देश्यले पुनर्ताजगी तालिम आयोजना गरिएको हो। आजको यस तालिममा १२ महिला समुहबाट एक समुहका अध्यक्ष र कोषाध्यष गरी जम्मा २४ जनाको सहभागी रहेको विज्ञ सिंहले बताईन ।

उहाँले महिलाहरूले पहिले सिकेका विषयलाई पुनः अभ्यास गर्दै आफ्नो व्यवसायमा देखिएका चुनौती समाधान गर्न, व्यवस्थापकीय तथा प्राविधिक क्षमता सुधार गर्न र उद्यमलाई थप व्यवस्थित रूपमा अगाडि बढाउन पुनर्ताजगी तालिम उपयोगी हुने विज्ञ सिंहले बताईन।

केके सडक आयोजनाले सडक निर्माणलाई भौतिक पूर्वाधार विकासमा मात्र सीमित नराखी महिला सशक्तीकरण, सीप विकास, स्वरोजगार तथा स्थानीय आर्थिक रूपान्तरणसँग जोड्दै आएको छ। यस्ता कार्यक्रमले ग्रामीण महिलालाई उद्यमशील बनाउँदै दिगो विकास, आर्थिक आत्मनिर्भरता तथा समावेशी आर्थिक वृद्धिको आधार तयार पार्ने अपेक्षा गरिएको छ।