अन्तर्राष्ट्रिय · नेपाल पोस्ट दैनिक बिशेष · समाचार · सामाजिक संजाल · स्वास्थ्य

नेपाल रेडक्रस सोसाइटीको ६४ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै

लहान, १९ भदौ । मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटीले आज आफ्नो ६४ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाउँदैछ। वि सं २०२० भदौ १९ गते स्थापना भएको नेपाल रेडक्रसले विपद् व्यवस्थापन, रक्तसञ्चार सेवा, स्वास्थ्य तथा समुदायमा आधारित मानवीय सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।
‘जहाँ पीडा, त्यहाँ रेडक्रस’ भन्ने मान्यताका साथ रेडक्रसले प्राकृतिक विपद्, महामारी तथा अन्य आपत्कालीन अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा स्वयंसेवक परिचालन गर्दै आएको छ। हाल संस्थाको सञ्जाल देशका ७७ वटै जिल्लामा फैलिएको छ भने ठूलो संख्यामा स्वयंसेवक तथा जुनियररयुवा रेडक्रस सर्कलमार्फत मानवीय सेवा सञ्चालन हुँदै आएको छ।
यसै सन्दर्भ पारी सिरहाका विभिन्न रेडक्रस शाखाहरुले रक्तदान तथा अन्य सेवा मुलक कार्य गरि मनाई रहेको जानकारी प्राप्त भएको छ ।
रेडक्रसले विशेषगरी रक्तसञ्चार सेवामार्फत बिरामीलाई आवश्यक रगत उपलब्ध गराउने, रक्तदान अभियान सञ्चालन गर्ने तथा सुरक्षित र गुणस्तरीय रक्त सेवाको पहुँच विस्तार गर्ने कार्य गर्दै आएको छ। त्यस्तै, बाढी, पहिरो, भूकम्पलगायतका विपद्मा तत्काल खोज तथा उद्धार र राहत सहयोगमा यसको भूमिका महत्वपूर्ण रहँदै आएको छ। पछिल्लो समय रसुवाको बाढी प्रभावित क्षेत्रमा समेत रेडक्रसका आपत्कालीन टोली सक्रिय भएर राहत तथा प्रतिकार्यमा जुटेका छन्।
भरखरै रसुवा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका तथा बाढी पिडितहरुको रहत संकलन कार्यमा लागी परेको रेडक्रस शाखा कार्यलय धनगढीमाईका अध्यक्ष गंगाराम यादवले बताए ।
६४ औँ स्थापना दिवसले रेडक्रसका स्वयंसेवक, कर्मचारी, रक्तदाता, सहयोगी संस्था तथा मानवीय सेवामा योगदान पुर्‍याउने सबैलाई थप उत्साह प्रदान गर्ने विश्वास गरिएको छ। यस अवसरमा मानवीय सेवा अझ प्रभावकारी बनाउँदै विपद् जोखिम न्यूनीकरण, स्वास्थ्य सेवा र स्वयंसेवी अभियानलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी सन् १९६४ मा अन्तर्राष्ट्रिय रेडक्रस समितिबाट मान्यता प्राप्त गर्दै सोही वर्ष अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघको सदस्य बनेको थियो।