नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार · स्वास्थ्य

विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

शम्भु चौधरी, लहान २१ माघ । आज विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ । सोहि अवसरमा लहान क्यान्सर केयर सेन्टर, लहानको आयोजनामा क्यान्सर सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्य सहित भव्य सचेतना र्‍याली निकाली लहान नगर परिक्रमा गरी सम्पन्न भएको छ।
लहान नगरका विभिन्न मुख्य सडक परिक्रमा गर्दै सम्पन्न र्‍यालीमा लहान नगर प्रमुख महेश प्रसाद चौधरी, ईलाका प्रशासन कार्यालयका प्रमुख, जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष प्रदीप कुमार गुप्ता, विभिन्न क्याम्पसका विद्यार्थी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

र्‍यालीमा सहभागीहरूले “क्यान्सरबारे जानौं, समयमै जाँच गराऔं”, “रोकथाम नै क्यान्सरविरुद्धको सबैभन्दा ठूलो हतियार” जस्ता सन्देशमूलक प्लेकार्ड र नारामार्फत आमनागरिकलाई सचेत गराएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीका अनुसार क्यान्सर जस्तो गम्भीर रोग बारे समयमै जानकारी र सचेतना अत्यन्त आवश्यक रहेको बताउनुभयो।उहाँले भन्नुभयो,“क्यान्सर डर मान्नुपर्ने रोग होइन, समयमै पहिचान र उपचार गरे निको पार्न सकिने रोग हो। स्थानीय तहले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर क्यान्सर जस्ता रोगको रोकथाम र उपचारमा सहयोग गर्ने नीति लिएको छ। लहान क्यान्सर केयर सेन्टरले खेलेको भूमिका सराहनीय छ।” आगामी दिनमा स्वास्थ्य सचेतना, निःशुल्क परीक्षण तथा सहयोगात्मक कार्यक्रमहरूलाई नगरपालिकाले थप विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रम आयोजक लहान क्यान्सर केयर सेन्टरले यस्ता सचेतनामूलक कार्यक्रमहरूले क्यान्सर प्रति फैलिएको भ्रम, डर र बेवास्तालाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। विश्व क्यान्सर दिवसको अवसरमा आयोजित यस र्‍यालीले लहानमा क्यान्सर विरुद्धको सचेतना अभियानलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।