शम्भु चौधरी लहान १६ बैशाख । लहानको मुख्य चोकमा रहेको सहिद स्मारकलाई स्थानान्तरण गरिने भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कञ्चनपुर–कमला चार लेन सडक निर्माणलाई गति दिन स्थानान्तरण गरिन लागेको हो । लहान नगरपालिका र जसपा नेपाल सहितका मधेसी दलहरूसँगको छलफल पछि भद्र सहमति भएको हो।
सहमति अनुसार सडकको बीच भागमा रहेको सहिद स्मारक हाललाई करिब दुई सय मिटर दक्षिण तर्फ रहेको तरकारी बजार कम्प्लेक्स भवनको अगाडि स्थानान्तरण गरिने नगरप्रमुख महेशप्रसाद चौधरीले बताए ।
लहान नगरपालिकाले सहिद सालिकको ऐतिहासिक, सांस्कृतिक तथा भावनात्मक महत्वलाई ध्यानमा राखी स्थानान्तरण प्रक्रियामा विशेष सुरक्षा तथा संरक्षणका उपायहरू अवलम्बन गरिने बताएको छ। यस क्रममा स्थानीय तह, सरोकारवाला निकाय तथा नागरिक समाजसँग सहकार्य गर्दै अस्थायी व्यवस्थापन प्रक्रिया अघि बढाइनेछ।
उक्त स्मारक व्यवस्थापन गर्ने सहमति जुटेसँगै अब सडक विस्तार तथा स्तरोन्नतिको काम तीव्रगतिमा विकास गरिने निर्माण कम्पनीले जनाएको छ । लहानको मुख्यचोकमा रहेको सहिदपार्क नहट्दा अहिलेसम्म एउटा पनि पाइल फाउन्डेसन निर्माणको कार्य सुरु भएको छैन । हिजो उक्त स्मारकलाई त्यहाँबाट स्थानान्तरण गर्ने निर्णय भएसँगै अब तीव्रगतिका साथ सडक निर्माणको काम अघि बढेको कञ्चनपुर–कमला सडक आयोजना पश्चिम खण्ड सिरहाका प्राविधिक शाखाका सूचना अधिकारी सरोज कोइराला बताए ।