लहान १० चैत्र । सिरहाको गोलबजार नगरपालिका वडा नं. ८ स्थिति सगुन इँट्टा भट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घाइतेको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको छ ।
पोलेको इँटा निकाल्ने क्रममा भट्टाको पर्खाल भत्किएर भारतको पश्चिम बंगालकी महिमा वीवीको मृत्यु भएको हो । घाइते हुनेहरुमा सोही स्थानका बबी विवी र ममता वीवी रहेको जनाइएको छ । उनीहरुको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको छ । मृतको शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी गोलबजारले जनाएको छ ।
गोलबजार नगरपालिकामा दर्जनौ इँट्टा भट्टाहरु संचालित छन् । इँटाभट्टाका संचालकहरुको लापरवाही एवम् सम्बन्धित निकायको उदासिनताको कारण इँट्टा भट्टाका मजदूरहरु घाइते एवम् मृत्यु हुन थालेपछि मजदूरहरु आतंकित बनेका छन् ।
माँ धमिनी इँट्टा उद्योगको पर्खाल भत्किदा गत फाल्गुन २७ गते ६ जना घाइते भएका थिए । घाइते मध्ये एक जना हालसम्म उपचाररत रहेको छ । गोलबजार नगरपालिकामा संचालित इँट्टा भट्टाहरुको पर्खाल भत्किएर वर्षेनी आधा दर्जन बढी मजदुरहरुको मृत्यु हुने गरेको तथ्यांकले जनाएको छ ।