सिरहा, २३ कात्तिक । मिथिलाञ्चलमा दश दिनसम्म दिदीबहिनीले आआफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दैे प्रेमको प्रतीकका रुपमा मनाईने सामाचकेवा पर्व आजदेखि सुरु भएको छ । यो पर्व कार्तिकको पञ्चमीदेखि शुरु भई दश दिनसम्म मनाई एघारौ दिन पूर्णिमाको राति सामाचकेवालाई बालिलगाउन जोतेर ठिक पारेको खेतमा विसर्जन गरी समापन गरिन्छ ।
मिथिलाञ्चलका दिदीबहिनीले आज बिहान समूहमा गीत गाउँदै खेत बारी तथा भीरमा गएर दाजुभाइले खनेर ल्याएको माटोको विभिन्न प्रकारका कलात्मक सामाचकेवाको मुर्ति बनाएर आजै बेलुकासम्म सुकाई त्यसमा विभिन्न प्रकारका रङ लगाएर राति रातो रङको बाँसको सुपामा राखेर दियो बाल्ने चलन छ ।
गाउँटोलका प्रत्येक चोक, दोबाटो, चौबाटो, विद्यालय, धर्मशाला, मन्दिर र छठघाटमा लगेर गीत, गाउँदै नाच्दैे सामाचकेवा खेल्ने चलन छ । यसरी खेल्दा भत्किएका माटाका सामाचकेबालाई दिदीबहिनीले एघाराँै दिनमा बिहानै पुनः मरमत गरी रङरोगन लगाई र दिनभरी सुकाएर बेलुका दाजुभाईलाई दहीचिउरा खुवाएर दाजुभाइको फाँर भराउने तथा दाजुभाईलाई मरमत गरेर सिङ्गारीएको सामाचकेबालाई फुटाउन लगाएर बाजागाजा, गीत नाचका साथ गाउँको जोतिएको खेतमा लगेर विसर्जन गर्छन् ।
समूहगत रुपमा चेलीबेटीले ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चम्पा फूल लगाइदिय”, “सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो” लगायतका मैथली गीत गाएर मिथिलाञ्चलमा खेल्ने चलन छ । यो पर्वमा समूहमै सबैले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्छन् ।
मिथिलाञ्चलका हरेक दिदीबहिनीले यो पर्व माइत गएर मनाउने हुँदा पर्वमा टाढाटाढाबाट चेलीबेटी सामाचकेवा खेल्नका लागि आआफ्ना माइत जाने चलन छ ।
यसैगरी दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले टोलछिमेका दाजुभाइ तथा दिदीबहिनीसँग यो पर्व मनाउने गर्छन् । सामाचकेवा खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदी बहिनी प्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वास छ ।