काठमाडौ १७ असोज। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वरत पक्षलाई वार्तामा आउन आग्रह गर्नुभएको छ ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै कम्युनिष्ट पार्टीलाई एकतामा सहभागि हुन आग्रह गरेको दोस्रो दिन हिजो अध्यक्ष ओलीले पनि द्वन्द्वरत पक्षलाई वार्तामा आउन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले वार्तामार्फत समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै वार्तामा आउन आग्रह गर्नुभएको हो । विप्लव नेतृत्वको नेकपा लगायतका पार्टीलाई प्रधानमन्त्री ओलीले सबै द्वन्द्वरत पक्षसँग सरकार वार्तामा बस्न तयार रहेको बताउनुभयो ।
हिजो मानव अधिकार तथा सामाजिक अभियान नेपाल घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयलाई लहडको विषय नबनाउन पनि आग्रह गर्नुभयो ।
