कार्तिक ८ लहान । स्नेहाज केयरको टोलीले लोपोन्मुख तथा संकटापन्न वन्यजन्तुको रुपमा रहेको एउटा जंगली भालूको बिहीबार उद्धार गरेको छ ।
सिरहाको लाहान नगरपालिका–१३ डण्डाटोलमा “धुत्रु” नाम गरेको जंगली भालूलाई मनोरञ्जनको लागि नचाउने कार्यमा प्रयोग भइरहेको भन्ने सूचनाको आधारमा उद्धार गरेको संस्थाका अध्यक्ष स्नेहा श्रेष्ठले जानकारी दिइन् ।
अन्दाजी १ वर्ष उमेरको भालुको बच्चालाई दयनीय अवस्थामा चटकको लागि प्रयोग भएको पाइएकोले डिभिजन वन कार्यालय लाहानको सहयोगमा उद्धार गरी काठमाडौं ल्याइएको उनले बताइन् ।
उद्धार गरिएको भालूको कल्याण सुतिश्चित हुने स्थायी बासस्थानको व्यवस्थाका लागि भारतमा रहेको वाइल्डलाइफ एसओएस बियर सेन्च्यूरीमा स्थानान्तरण गर्ने प्रकृया अघि बढाइएको उनले बताइन् ।
जनावरको सँरक्षणका लागि एउटा पशु कल्याणकारी तथा वन्यजन्तु सँरक्षणमा सरोकार राख्ने सँस्थाको नाताले पशु कल्याणका आधारभूत स्वतन्त्रताहरु समेत हनन् गरी मनोरञ्जन कार्यमा उक्त भालुलाई प्रयोग भएको पाइएकोले तत्काल उद्धार गरिएको उनले बताइन् ।
‘अहिलेको वैज्ञानिक युगमा समेत जंगली जनावरहरुलाई यातना दिई मनोरञ्जन गर्ने परिपाटी हामी कसैका लागि पनि शोभनीय हुँदैन,’ श्रेष्ठले भनिन्, ‘नेपालका विभिन्न स्थानहरुमा अझैपनि जंगली जनावरहरुलाई यसैगरि अबैध रुपमा प्रयोग गरिराखिएका सुचनाहरु हामीसँग रहेकोले भावी दिनमा समेत संस्थाले जनावरहरुको उद्धारका लागि पहल गरी पशु कल्याण सुनिश्चित गर्ने कार्यमा निरन्तर रुपमा लागिरहने प्रतिवद्धता व्यक्त गर्दछ ।’
तत्कालका लागि अस्थायी रुपमा आवश्यक उपचार र हेरचाहका लागि सदर चिडियाखाना जावलाखेलमा राखिएको श्रेष्ठले बताइन् ।