शम्भु चौधरी लहान १ साउन । आजबाट साउन शुरु राजधानी लगायत तराईका अन्य जिल्लाका शहरहरुमा हरीयो चुरा र हरीयो मेहदीले बजार सु सजित देखिनुका साथै महिला दिदि बहिनीको चहल पहल देखिन्छ ।
साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमङ्ग हुन्छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहलपहल देखिन्छ ।
पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले फेसनका रूपमा । खासगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन भएपनि साउनका सबै दिनलाई उत्तिकै महत्त्वका रूपमा लिइन्छ ।
साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेमको, रातोलाई शौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ ।
त्यस्तै, मेहेन्दीले हात रङ्ग्याउनेको पनि भीड उत्तिकै छ । साउन महिनामा हात आकर्षक डिजाइनमा मेहेन्दी लगाउनेहरुको संख्या पनि बढिरहेको छ ।