काठमाडाैँ, १ साउन । आजदेखि इन्टरनेटको मूल्यमा १३ प्रतिशतले वृद्धि भएको छ। इन्टरनेट प्रदायकहरुको संस्था आइस्पानले निर्णय नै गरेर आज साउन १ गतेबाट उपभोक्ताबाट १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क उठाउने भएका हुन् ।
सरकारले गत आर्थिक वर्षदेखि १३ प्रतिशत शुल्क बढाउने निर्णय गरेको थियो । यस वर्ष पनि सरकारले सोही शुल्कलाई निरन्तरता दिएपछि यन्टरनेट प्रयादयक संस्थाहरुले त्यसको विरोध गर्दै आएका थिए । उनीहरुले आफूसँग भएको सहमति विपरीत सरकार गएको आरोप लगाएका छन् ।
इन्टरनेटको मूल्य बढाउने सरकार निर्णयविरुद्ध चौतर्फी विरोध भएपछि सरकारले घरयासी रुपमा प्रयोग गर्नेहरुबाट बढेको शुल्क नलिने र त्यसबापत सरकारले सेवा प्रदायकलाई इन्टरनेटको आधा शुल्कलाई मर्मत सम्भार शुल्क शीर्षकमा लिन पाउने सहमति भएको थियो ।
सरकारले इन्टरनेटमा १३ प्रतिशत शुल्क वृद्धि गरेपछि शुल्क उपभोक्तबाटै उटाउने निर्णय आइस्पानले गरेको अध्यक्ष भोजराज भट्टले जानकारी दिए।
सरकारले इन्टरनेट प्रदायक सांस्थाको माग पूरा गर्ने तयारी गरिरहेका बेला आइस्पानले इन्टरनेटको मूल्य बढाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा बताउँछन् ।
तर, सहमति अनुसार काम गर्न केही ढिला भएको सञ्चार तथा सूचना प्रवधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए । सेवा प्रदायक कम्पनीहरूले प्रक्रियामा रहेको विषयको निर्णय नआएको भन्दै शुल्क बढाउने निर्णय गरेको भए पनि उपभोक्तालाई मार पर्न नदिने गरी व्यवसायीसँग भएको सम्झौता कार्यान्वयनमा ल्याउने उनको दाबी छ।
व्यवसायीले भने सरकारले १० महिना हुँदासम्म लिखित सहमति कार्यान्वयन नगरेको आरोप लगाएका छन् । सरकारले व्यवसायीसँग भएको लिखित सम्झौता लागू नगरी फेरि आगामी आवको बजेट तथा आर्थिक विधेयमा पनि सोही विषय समावेश गरेको कारण शुल्क बढाउने निर्णय भएको इस्पान अध्यक्ष भट्टले बताए ।