सिरहा१३ अषाढ । जिल्ला समन्वय समिति सिरहाले असार लागेर पनि नियम मिचेर सञ्चालनमा रहेका जिल्लाका ग्र्याभेल खानीहरु आज (विहिवार) बाट बन्द गर्न निर्देशन दिएको छ ।
आजबाट भदौ मसान्तसम्म कुनै पनि नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने भन्दै तीन महिनाको अवधिमा खानी सञ्चालन गरेको भेटिए तुरुन्त कार्वाही गर्ने अध्यक्ष ठाकुरले बताए । उनले भने, ‘आज हामीले सवैलाई सूचना गराइसकेका छौं, भोलीबाट भेटिए पहिलो पटकलाई प्रति टिपर २५ हजार, दोस्रो पटक पुनः फेला परे ५० हजार र तेस्रोपटक पनि फेला परे प्रकृति हेरेर गाडी नै सिज सम्म गर्न सकिने व्यवस्था हामीले गरेका छौं ।’
धनगढीमाई नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेको खानीमा पुगेर जिससको टोलीले खानी बन्द गर्न निर्देशन दिएको छ । सो निर्देशनपछि ४ वटा खानीहरुबाट एक सय ५० बढी टिफर र एक दर्जन स्काभेटररहरु फिर्ता भएका छन् ।
असार १ गतेबाटै बन्द हुनुपर्ने खोला, नदी तथा खानीजन्य पदार्थ उत्खनन् नरोकिएपछि जिल्ला समन्वय समितिका अध्यक्ष रामचन्द्र ठाकुरको नेतृत्वमा खानीमै पुगेको टोलीले खानी बन्द गराउन निर्देशन दिएको हो ।
ठाकुरले आज खानीमा भेटिएका सम्पूर्ण ट्रक तथा स्काभेटरहरुको नम्बर टिपिएको जनाउँदै उनीहरुलाई जरिवाना गर्ने समेत बनाए । उनले स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभन्दा अगाडी बढेर खानी उत्खनन्को आदेश दिएको भन्दै सवै खानीहरु अवैध रुपमा सञ्चालन भएको समेत बताए ।