एजेन्सी : भारतको राजस्थानस्थित बाडमेरमा तिब्र गतिमा आएको आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी मानिस घाइते समेत भएका छन् ।
भारतीय अधिकारीहरुका अनुसार सयौंको संख्यामा मानिसहरु एक धार्मिक कार्यक्रमका लागि जम्मा भएका थिए । उक्त कार्यक्रमका लागि लगाइएको पण्डाल (टेन्ट) खसेको थियो । घाइते भएका केही मानिसको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।
प्रहरीका अनुसार जसोल गाउँको धाममा राम कथाका लागि ठूलो पंडाल लगाइएको थियो । आइतबार दिउँसो तीब्र गतिमा आएको आँधी र पानीका कारण पांडालको केही हिस्सा खस्न पुग्यो । त्यसक्रममा भागदौड भएको थियो । त्यस समय पाण्डालमा १० भन्दा धेरै मानिस थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति शोक व्यक्त गरेका छन् । राजस्थानका मुख्यमन्त्रीले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेको उपचार राज्य सरकारले गर्ने घोषणा गरेका छन् ।