काठमाडौं २२ चैत। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामको लागि सरकारले दुई साताका लागि गत फागुन ११ गतेदेखि लकडाउन घोषणा गर्यो । लकडाउन घोषणासँगै सरकारले अस्पतालमा समेत आपतकालीन सेवाबाहेक सामान्य सेवा बन्द गर्ने निर्णय गर्यो ।
सरकारको सो निर्णयसँगै अहिले अस्पतालमा ओपीडी लगायतका सेवाहरु बन्द गरिएका छन् । यता, अस्पताल बन्द भएको छ भने अर्काे तिर काठमाडौंको पशुपति क्षेत्रमा रहेको आर्यघाटमा ल्याइने शवको संख्यामा समेत लकडाउन सुरु भएपछि आश्चर्यजनक रुपमा कमी भएको छ ।
लकडाउनको समयमा सरकारले अत्यावश्यक सेवाबाहेक अरु सबै गतिविधि बन्द गराए पनि ज्यानै जाने खालका बिरामीहरुको लागि न त अस्पताल जान प्रतिबन्ध लगाइएको छ । न त शवदाहको लागि नै रोक लगाइएको छ । तर पनि आश्चर्यजनक रुपमा शवको संख्यामा गिरावट आउनुलाई शंकास्पद रुपमा हेर्छन् पशुपति क्षेत्र विकास कोषका अधिकारीहरु ।
कतै अस्पतालहरु बन्द भएकै कारण शवको संख्यामा कमी भएको त होइन ? यो प्रश्न मेरो मथिङ्गलमा नाचिरहेको छ । अहिले कतिपय निजी अस्पतालहरु बन्दजस्तै छन् । मानिसहरु घरघरमै छन् । अस्पतालहरुले सामान्य रुघाखोकी र ज्वरोको समेत उपचार गर्न नमानेका समाचारहरु आइरहेका छन्,’ कोषका सदस्य सचिव डा. प्रदीप ढकालले भनेका छन्, ‘ कतै हाम्रा अस्पतालहरु उपचारका नाममा प्रयोगस्थल त बनिरहेका छैनन् ?
अल्पविकसित मुलुकहरुमा परीक्षण र प्रयोग गर्नका लागि औषधि पठाइन्छन् भन्ने पनि कतैकतै पढेकै हो । कतै हामी पनि त्यही प्रयोगका पात्र बनिरहेका त छैनौं ? पशुपति क्षेत्र विकास कोषले दिएको जानकारी अनुसार लकडाउन सुरु हुनुभन्दा पहिले औसतमा दैनिक २० वटा शवहरु आउने गरेकोमा लकडाउन सुरु भएपछि तीन चौथाई संख्या कम भएको छ ।
कोषका सदस्य सचिव डा. ढकाल लकडाउन सुरु भएपछि शवको संख्यामा आएको भारी गिरावटलाई गम्भीर रुपमा लिने गर्छन् । कुराकानीका क्रममा सदस्यसचिव ढकालले लकडाउनको समयमा अस्पतालहरु बन्द भएको बेलामा शवको संख्यामा भारी गिरावट आउनुले गम्भीर शंका उत्पन्न गराएको बताए ।
उनी भन्छन् ‘लकडाउनको समयमा धेरै बाहिर गए भन्ने पनि होला । अघिल्लो दिन घोषणा गरेर गरिएको लकडाउनका कारण धेरैजना बाहिर पनि जान नपाएको भएपनि शव घट्नुको पछि गम्भीर शंका उत्पन्न भएको छ ।
