मकवानपुर १ फालगुन । ५ नम्बर प्रदेशका मन्त्रालयहरू एउटै परिसरभित्र केन्द्रित हुन थालेका छन् ।
संघीय सरकारले बुटवलस्थित सडक डिभिजन कार्यालयका भवनहरू प्रदेश सरकारलाई उपलब्ध गराउने निर्णय गरेसँग यत्रतत्र छरिएर रहेका मन्त्रालयहरू सडक डिभिजन कार्यालयको परिसरमा अर्थात् ‘मिनि सिंहदरबार’मा केन्द्रित हुन थालेका हुन् । प्रदेशमा ७ वटा मन्त्रालय छन् ।
माघ ६ गते बसेको संघीय सरकारको ‘क्याबिनेट’ बैठकले बुटवलस्थित सडक डिभिजन कार्यालयको भवन र जग्गा प्रदेश सरकारलाई उपलब्ध गराउने निर्णय गरेको थियो । नेकपा संसदीय बोर्डका सचिव भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा बनेको समितिले प्रदेश राजधानीका लागि बुटवलमा सबैभन्दा उपयुक्त स्थान र जग्गा भएको ठहर गरी सडक डिभिजन कार्यालय र कम्पाउण्ड भित्रको सबै जग्गालाई मिनि सिंहदरबार बनाउन सिफारिस गर्ने र संघ सरकारसँग जग्गा र भवनको स्वामित्व माग गर्ने निर्णय गरेको थियो ।
संघीय सरकारले भवन उपलब्ध गराउने निर्णय गरेसँगै हेभी इक्युपमेन्ट कार्यालयका नवनिर्मित भवनमा सामाजिक विकास मन्त्रालय सरिसकेको छ । आन्तरिक राजस्व कार्यालयका भवनमा अबको १ हप्ताभित्र आर्थिक मामिला तथा योजना मन्त्रालय आउँदैछ । राजस्व कार्यालयको भवनका उपकरण कालिकानगरस्थित कालिका भवनमा स्थानान्तरण गरिँदै छन् । लोकान्तरबाट
