छुटपुट · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार

लहान–२२ मत्स्यफर्मदेखि जहदीसम्म सडक कालोपत्रे हुने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास

शम्भु चौधरी, लहान १९ कार्तिक । लहान नगरपालिका–२२ स्थित मत्स्यफर्मदेखि जहदीसम्मको सडक कालोपत्रे हुने भएको छ। उक्त सडक निर्माण कार्यको बुधबारशिलान्यास लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले गरेका छन्।

१ करोड ६३ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण हुन लागेको उक्त सडकको शिलान्याससँगै स्थानीयवासीमा सडक पूर्वाधार विकास हुने अपेक्षा बढेको छ।

सडक कालोपत्रे भएपछि यस क्षेत्रका स्थानीय बासिन्दालाई आवतजावतमा सहजता हुनुका साथै कृषि उपज तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

शिलान्यास कार्यक्रममा नगरप्रमुख चौधरीले नगरपालिकाभित्रका सडक तथा अन्य भौतिक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको बताए। उनले नगरका ग्रामीण तथा दुर्गम क्षेत्रलाई सहज यातायातको पहुँचमा पुर्‍याउन सडक निर्माण र स्तरोन्नतिको कामलाई निरन्तरता दिइने धारणा व्यक्त गरे। लामो समयदेखि सडक समस्याका कारण आवतजावतमा कठिनाइ भोग्दै आएका स्थानीयवासीलाई सडक कालोपत्रे भएपछि ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। मंसिरको १५ गते सम्म कार्य सम्पन्न भई सक्ने मेयर चौधरीले अपेक्षा गरेको छ ।

उक्त सडक निर्माण सम्पन्न भएपछि लहान–२२ का स्थानीय बासिन्दाको दैनिक आवागमन सहज हुनुका साथै यस क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।