शम्भु चोधरी लहान, १४ असोज । नेपालीहरूको महान् पर्व दशैं, तिहारलाई लक्षित गर्दै लहानमा ‘दशैं–तिहार उत्सव मेला २०८३’ आयोजना हुने भएको छ।
स्थानीय व्यापार, कला, संस्कृति तथा मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मेलामा विभिन्न प्रकारका व्यापारिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ। मेलामा स्थानीय उत्पादन तथा व्यवसायको प्रचार–प्रसारसँगै सर्वसाधारणका लागि मनोरञ्जनात्मक कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी गरिएको छ।
मेलाको उदघाटन २०८३ असोज २३ गते शुक्रबारका दिन हुने मेला आयोजक समितिका अध्यक्ष दशमीलाल चौधरीले बताए । लहानको पशुपति मावि को खेल मैदानमा १५ दिनसमम संचालन हुने अध्यक्ष चौधरीले बताए ।
चाडपर्वको अवसरमा स्थानीय बजारलाई चलायमान बनाउन तथा व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने उद्देश्यले मेलाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। मेलामा विभिन्न वस्तु तथा सेवाका स्टल राखिनुका साथै थारु पहिरन, थारु पौराणिक वास्तुकला प्रदर्शन, थारु परिकार, सांस्कृतिक कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति र अन्य मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्ने तयारी रहेको मेला समितिका प्रवक्ता अजय चौधरीले बताए।
आयोजकका अनुसार मेलालाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन आवश्यक तयारी अघि बढाइएको छ। आज बसेको बृह्त भेलाबाट मेलालाई सुव्यवस्थित बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको छ । मेला अवधिभर सुरक्षा, सरसफाइ तथा भीड व्यवस्थापनलाई प्राथमिकता दिइने जनाइएको छ।
दशैं–तिहारको अवसरमा आयोजना हुन लागेको मेलाले लहानको व्यापारिक तथा सांस्कृतिक गतिविधिलाई थप उत्साहपूर्ण बनाउने विश्वास गरिएको छ।

